मकवानपुर । मध्यवर्ती क्षेत्र खारेजको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२, १३ र १४ का स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै प्रभावित वडाका संर्घष समितिले विरोध प्रर्शन गरेका हुन् । निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र विस्तारले मानव बस्ती क्षेत्रलाई नै प्रभावित पार्ने र मानवीय सुरक्षा नै नरहेको भन्दै स्थानीयहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
संर्घष समितिको विरोध प्रर्दशनलाई सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले समर्थन गरेकाे छ । उनीहरुले हेटौंडा–१३ पदमपोखरीमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेनाको क्याम्प राख्ने तयारी गरिएकाले सो कदम तत्काल रोक्न माग गर्दै विरोध गरेका छन् । स्थानीयले निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दुःख दिने नियत राखेको भन्दै त्यसको विरोध गरेका हुन् । यसविषयमा वडा, उपमहानगर, प्रदेश तथा संघीय प्रतिनिधिलाई समेत जानकारी गराइसकेका बताइएको छ ।
निकुञ्जको सुरक्षाका लागि सेनाको क्याम्प मानववस्तीको बीचमा नभइ चुरेको डाँडापारी राख्न उनीहरुले आग्रह गरेका छन् । निकुञ्जले स्थानीहरुसँग छलफल नै नगरी मध्यवर्ती क्षेत्र विस्तार गर्दै मानिसहरुलाई दुःख दिने उद्देश्यले बस्तीको बीचमा सेनाको क्याम्प राख्ने तयारी गरेकाले संघर्ष समिति बनाएर विरोधमा उत्रिएको उनीहरुको भनाई छ ।
निकुञ्जले क्याम्प खडा गरेपछि स्थानीयलाई घाँसदाउरा तथा गोठालो जान समेत अवरोध सिर्जना गर्ने भएपछी स्थानीयवासी त्यसको विरुद्धमा उत्रिएका हुन् । हेटौंडा–१२, १३ र १४ नम्वर वडाका स्थानाीय जनप्रतिनिधिहरुले पनि आफूहरुसँग समन्वय नै नगरी निकुञ्जले काम गरेको बताएका छन् । यसअघि पनि निकुञ्जले स्थानीय तह र वडासँग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा आफ्नो काम गरिरहेकाले तत्काल त्यसलाई रोकेर छलफलमा आउन हेटौंडा १३ का वडा अध्यक्ष मनोज कुमार वाइवाले आग्रह गरे ।
विरोध प्रदर्शनका क्रममा सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर, प्रदेश वन ऐन संसोधन गर, मानव अधिकार विरोधी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राष्ट्रिय पर्सा निकुञ्ज मध्यवर्ति क्षेत्र खाजेर गरलगायतका नाराहरु लगाइएको थियो ।

