मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन हुने नहुने बारेको भ्रम फैल्याउनेलाई कारवाही गरिने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । मुख्य राजनीति दलका नेतृत्वहरूबाटै निर्वाचन प्रक्रियामाथी आशंका फैलाउने अभिव्यक्ति प्रति आयोगका आयुक्त भण्डारीले आक्रोश व्यक्त गरे ।
मकवानपुरको हेटौंडामा आज भएको एक कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् । आयोगले सबै तयारी सकेको अवस्थामा अनावश्यक भ्रम फैलाउनेहरू प्रति आयोगको ध्यानाकर्षण भएको भण्डारीले बताए । “हामीले राम्रोसँग नोट गरेका छौ, हामी कारबाहीमा जाने छौ” उनले भने ” देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० बर्ष पछि धकेलिने छौ ।”
आयोग कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । ” निर्वाचन नभए लोकतान्त्रले हार्छ” उनले भने “लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो ।”
भ्रम र आशंकले फैलाउने नेता आफै जनतासामू जान डराएको उनले बताए । निर्वाचन नभएको अवस्था नेतृत्वलाई पनि समस्या हुने बताउंदै उनले भने “चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, यसको कदर गरौ ।” लोकतन्त्र जिवित राख्ने प्रक्रिया नै निर्वाचन भएकोले तोकिएको समय निर्वाचन हुनै पर्ने उनले बताए ।
“लोकतान्त्रिक कदममा आयोगको पवित्र नियतमा शंका नगरौ” उनले भने । आयुक्त भण्डारीले आयोगले मुलकाम सकेको बताए । जनताले बिश्वास गरेर आफ्नो मत दिने भनेको आफूमाथि शासनको अधिकार दिएको नभई आफ्नो समस्यामा सहजीकरण गर्न मत दिने भएकोले यसलाई सघाउन उनले सबैलाई आग्रह गरे ।
आयुक्त भण्डारीले सन्चारकर्मीलाई पनि आचारसंहितामा बस्न आग्रह गरे । “मिडिया पनि आयोगको हिस्सा हो, निर्वाचन बिरुद्व हुने, अनावश्यक शंका उब्जने र निर्वाचन बिथोल्ने प्रयत्न नगरौ” उनले भने ।
आयोगले आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले आयोगले सबै तयारी सकेको बताए । स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोग लागिपरेका पोखरेलले बताए ।
यौन दुर्व्यबहार आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । स्कुले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका २ जना शिक्षकहरूलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका ३ शिक्षक मध्ये २ जना शुक्रबार पक्राउ परेका हुन् । शुक्रबार राति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ ।
अर्का एक शिक्षक भने २५ चैतमै आफैं प्रहरीको सम्पर्कमा आएका थिए । आरोपित शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आए पनि अन्य दुई फरार रहेकोमा ढिलो गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनता माबिका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै २२ चैत्रमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
बिद्यालयमा तोडफोड भएपछि बाहिरिएको यो घटना बिरुद्व स्थानीय स्तरमै मिलाउन खोज्दा अधिकरकर्मीहरूले बिरोध जनाएका थिए । सुरक्षा चुनौतीका बिच २४ चैत्रको मध्य रातमा केही छात्राहरूको अभिभावक र छात्राहरूले समेत जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
आरोपित शिक्षकहरू र पीडत छात्राहरू स्थानीय भएको कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताईएको छ । बिद्यार्थीहरूले गत ७ चैतमा बिद्यालय प्रशासनसमक्ष आफूहरू शिक्षकद्वारा पीडित भएको भन्दै निवेदेन दिएका थिए ।
मकवानपुर । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजययी गराउन निर्देशन दिएकाे छ । पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन काँग्रेसले निर्देशन जारी गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भ्रातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितिका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरमा ४ जनाले हतियार बुझाएका छन । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका हुन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्र हतियार बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ४ जनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको बताए ।
जिल्लामा दर्ता गराएका ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिईने बताए । उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए ।
प्रकृतिकाे नयाँ वर्ष वसन्तः नेपालमा बैशाख १ गतेबाट नयाँ वर्ष सुरु हुने गर्छ । तर ऋतुका हिसाबले चैत महिनामै प्रकृतिले नयाँ वर्ष मनाउँछ । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई ‘म ऋतुहरूमा वसन्त ऋतु हुँ’ भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले वसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका छन् । वसन्त ऋतु राम्रो, रमाइलाे र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। बसन्त ऋतुमा छाउने हरियालीले सवैकाे मन लाेभ्याउँछ । त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ। तस्विरहरुः सरिता दाहाल र आरपी गुरागाईं






