मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन हुने नहुने बारेको भ्रम फैल्याउनेलाई कारवाही गरिने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । मुख्य राजनीति दलका नेतृत्वहरूबाटै निर्वाचन प्रक्रियामाथी आशंका फैलाउने अभिव्यक्ति प्रति आयोगका आयुक्त भण्डारीले आक्रोश व्यक्त गरे ।
मकवानपुरको हेटौंडामा आज भएको एक कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् । आयोगले सबै तयारी सकेको अवस्थामा अनावश्यक भ्रम फैलाउनेहरू प्रति आयोगको ध्यानाकर्षण भएको भण्डारीले बताए । “हामीले राम्रोसँग नोट गरेका छौ, हामी कारबाहीमा जाने छौ” उनले भने ” देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० बर्ष पछि धकेलिने छौ ।”
आयोग कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । ” निर्वाचन नभए लोकतान्त्रले हार्छ” उनले भने “लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो ।”
भ्रम र आशंकले फैलाउने नेता आफै जनतासामू जान डराएको उनले बताए । निर्वाचन नभएको अवस्था नेतृत्वलाई पनि समस्या हुने बताउंदै उनले भने “चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, यसको कदर गरौ ।” लोकतन्त्र जिवित राख्ने प्रक्रिया नै निर्वाचन भएकोले तोकिएको समय निर्वाचन हुनै पर्ने उनले बताए ।
“लोकतान्त्रिक कदममा आयोगको पवित्र नियतमा शंका नगरौ” उनले भने । आयुक्त भण्डारीले आयोगले मुलकाम सकेको बताए । जनताले बिश्वास गरेर आफ्नो मत दिने भनेको आफूमाथि शासनको अधिकार दिएको नभई आफ्नो समस्यामा सहजीकरण गर्न मत दिने भएकोले यसलाई सघाउन उनले सबैलाई आग्रह गरे ।
आयुक्त भण्डारीले सन्चारकर्मीलाई पनि आचारसंहितामा बस्न आग्रह गरे । “मिडिया पनि आयोगको हिस्सा हो, निर्वाचन बिरुद्व हुने, अनावश्यक शंका उब्जने र निर्वाचन बिथोल्ने प्रयत्न नगरौ” उनले भने ।
आयोगले आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले आयोगले सबै तयारी सकेको बताए । स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोग लागिपरेका पोखरेलले बताए ।

