मकवानपुर । स्कुले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका २ जना शिक्षकहरूलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका ३ शिक्षक मध्ये २ जना शुक्रबार पक्राउ परेका हुन् । शुक्रबार राति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ ।
अर्का एक शिक्षक भने २५ चैतमै आफैं प्रहरीको सम्पर्कमा आएका थिए । आरोपित शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आए पनि अन्य दुई फरार रहेकोमा ढिलो गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनता माबिका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै २२ चैत्रमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
बिद्यालयमा तोडफोड भएपछि बाहिरिएको यो घटना बिरुद्व स्थानीय स्तरमै मिलाउन खोज्दा अधिकरकर्मीहरूले बिरोध जनाएका थिए । सुरक्षा चुनौतीका बिच २४ चैत्रको मध्य रातमा केही छात्राहरूको अभिभावक र छात्राहरूले समेत जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
आरोपित शिक्षकहरू र पीडत छात्राहरू स्थानीय भएको कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताईएको छ । बिद्यार्थीहरूले गत ७ चैतमा बिद्यालय प्रशासनसमक्ष आफूहरू शिक्षकद्वारा पीडित भएको भन्दै निवेदेन दिएका थिए ।

