मकवानपुर । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजययी गराउन निर्देशन दिएकाे छ । पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन काँग्रेसले निर्देशन जारी गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भ्रातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितिका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

