मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा १ सय १३ मतदान केन्द्र रहने भएको छ । बागमती प्रदेशको १ मात्र उपमहानगरपालिकामा ३० बैशाखमा हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि २८ मतदान स्थलमा १ सय १३ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता सख्याको आधारमा एउटा मतदान स्थलमा बढीमा ८ वटा सम्म मतदान केन्द्र रहेको छ । उपमहानगरपालिकामा कुल मतदाता १ लाख ४ हजार ४ सय ७३ जना रहेका छन । निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिम दिइसकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबारबाट निर्वाचनमा खटिने कर्मचारीहरुलाई नियुक्ति प्रदान गरेको छ । सोमबारसम्म जिल्लाका सबै मतदात केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ति पत्र दिइ सकिने कार्यालयले जनाएको छ।
हेटौंडा नगरपालिका हुँदाको साबिक ११ वडा रहेकोमा साविक हर्नामाडी, हटिया, बसामाडी, चुरियामाई र पदमपोखरी गाउँ विकास समिति मिलाएर बनाईएको उपमहानगरपालिका १९ वडा रहेका छन ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको नेकपा एमालेबाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले प्रत्यासी रहेका छन् । यता सक्ताधारी गठबन्धन दलबाट प्रमुखमा मिना कुमारी लामा (नेकपा एस) र उप प्रमुखमा राजेश बानियाँ (नेपाली काङ्ग्रेस) रहेका छन् ।
यसैगरी राप्रपाबाट प्रमुखमा दिपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिएका छन ।
विस २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का हरि बहादुर महत र उपप्रमुखमा पनि एमालेकै मिना कुमारी लामा विजयी भएका थिए ।
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आइतबार संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। प्रवक्ता आचार्यले आइतबार एक विज्ञप्ति जारी गरि जेठ ३ गते संसद अधिवेशन आव्हान गरेको जानकारी दिए ।
प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।’
संवैधानिक व्यवस्थाअनुसार, १५ जेठमा बजे ल्याउनुपर्छ। त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।
मकवानपुर । चुनावी तयारीमा दाैडधुप गरिरहेका नेताहरु मतदानकाे समय नजिकिदै गर्दा पार्टी फेर्ने हाेड पनि चलिरहेकाे देखिन्छ । ३ दिन अघि राप्रपा परित्याग गरेका मकवानपुरका प्रभावशाली नेता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
केही दिन एकीकृत समाजवादीका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए । ३ दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता मधु अधिकारी नेकपा (एकिकृत समाजवादी) प्रवेश गरेका हुन् ।
उनीसँगै उनकै छोरा तथा राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी पनि नेकपा एस प्रवेश गरेका छन् । उनीहरु आज आइतबार पोखरा पुगेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका थिए ।
राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको थाहा पाएपछि आफू समाजवादी यात्रामा सामेल हुन नेकपा एस प्रवेश गरेको अधिकारीले बताए ।
राप्रपामा रहेर संगठन निर्माणको लागि नियमित काम गर्नेहरु नै पछाडि पर्नेको संख्या बढ्दै गएपछि आफूहरु नेकपा एसमा प्रवेश गरेको उनको दाबी छ ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा होमिएका पार्टी नेतृत्वहरुको प्रतिवद्धता लिन हामीले केही प्रतिनिधिमुलक आवाज उठाउने जमर्को गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ का एमाले वडा अध्यक्ष पदम बजगाईंसँग गरिएको कुराकानीको सार:
म पदम बजगाईं, नेपाल कम्युनिष्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका ५ को पार्टी अध्यक्ष । हामी स्थानीय तह सदस्य निर्वाचनको एक मुखैमा आइपुगेका छौ । हामीले चुनावी प्रचारको रुपमा घरदैलो कार्यक्रम जारी नै राखेका छौ । अभियानकै रुपमा थालिएको घरदैलो सकिएपनि हामी सुस्ताएका छौनौ । जित्नको लागि मात्रै त हामीसँग चुनौति छैन, हामीले आफ्नो वडाबासीको सल्लाह सुझाव लिनको लागि पनि भेटघाटको कार्यक्रमलाई निरन्तरता दिएका हौ ।
एमालेको एजेण्डाकै कुरा गर्नु पर्दा चाही सबैभन्दा पनि पहिले काममा विश्वास गर्ने पार्टी हो । हामीले भोली यो गर्छौ, उ गर्छौ भनेर भाषण दिन भन्दा हाम्रो नेतृत्व रहदा हामीले गरेकै कारण एमाले चिनिदै आएको छ । हेटौंडाको यही ५ नम्बर वडामा होस् वा अन्य क्षेत्रमा एमाले नेतृत्वले गरेको विकास निर्माणका काम नै एमाले कस्तो पार्टी हो भनेर जनताले चिनेका छन् ।
फेरी पनि हामीले जित्नको लागि केही एजेण्डाहरु बजारमा छरेका छौंनौ, हामीसँग जे छ, हामी जे भनिरहेका छौ, हाम्रा प्रतिनिधिले आगामी ५ वर्षमा गर्ने र गर्नै पर्ने कामको खाका मात्रै हो ।
अबको ५ वर्षमा हेटौंडाको यो वडालाई कस्तो बनाउने भन्ने योजना हो हाम्रो । वडाको समग्र विकासको योजनाहरु हाम्रो टीमले अघि सारेको छ । वडाको सार्वजनिक भवनहरू मन्दिर, सामुदायिक भवन, पुस्तकालय, वन समितको सभाहल, प्रतिक्षालय, कृयापुत्री भवन मर्मत सुधार, रंगरोगन तथा संरक्षणदेखि नयाँ पर्यटकीय गन्तव्यको खोजि हाम्रो टीमको योजना हो । शान्ति पार्कको निर्माण तथा विस्तार, महिलाको सशक्तिकरण तथा आत्मनिर्भरताको खोजिमा हाम्रो टीमको योजना छ ।
वडाको नमुना स्कुल बालज्योति मा.विलाई प्रविधि मैत्री बनाउने योजना हामीले ल्याएका छौ । यो स्कुलमा स्थानीय आवश्यकता र विद्यार्थीको रुचि संम्भाव्यता अध्ययन गरी दश जोड दुई (प्लस टु) संचालन गरिनेछ । यहाँ अध्ययन गर्दै आएका दृष्टिविहिन विद्यार्थीहरुको आवासीय भवन, बर्षाको समयमा हुने डुबानको समस्यालाई हामीले समाधानको योजना बनाएका छौ ।
खेलकुद, संगित, कलाकारितालगायतका विषयहरुमा प्रतिभा भएका विद्यार्थीको रोष्टर अनुसार उनीहरुका लागि उपयुक्त तालिम, क्षमता अनुसारको कार्यक्रम ल्याउने छौ । यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजनाहरु छन् । युवा तथा खेलकुदका कार्यक्रहरु छन् ।
वडाको भाषा, कला, संस्कृतिको संरक्षण, विभिन्न सचेतनात्मक अभियान, राष्ट्रिय भावनाको जागृति, मानवीय मुल्य, सदाचार र नैतिकताको प्रवद्र्धन गरिने कार्यक्रमहरु हाम्रो योजनामा छन् ।

वडावासीलाई मेरो विनम्र अनुरोध छ कि हामीले अघि सारेको टीमलाई एक पटक चान्स दिनुहोस्, फेरी फेरीको कुरा हाम्रो टीमले गरेको कामले नै बताउने छ यहाँहरुलाई । यस पटक हेटौंडा ५ मा हाम्रो युवा उम्मेदवारहरुको टीम सुशिल घिमिरे, रञ्जिता सिलवाल, ज्ञानु थापा, रामबहादुर राई र भगवती बिकलाई मतदान गरिदिनु हुन मेरो अनुरोध छ ।
मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले ठुलापार्टीहरुमा घमण्ड बढी भएको कारण अब जनताले सुधार्न नसक्ने अवस्था आएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देलले ठुला पार्टीलाई सुधार गर्ने एउटै उपाय भनेको चुनावमा उनीहरुको बाकस खाली गरिदिने विकल्प रहेको बताए ।
घुस खाने खुवाउने भनेको सामान्य कुरा नभएकोले यसलाई उन्मुलन गर्नुपर्ने उनले बताए । भ्रष्टचारको अन्त्यको लागि राप्रपाले नै जित्नुपर्ने उनले बताए । देशमा भ्रष्टचार अन्त्य गरेरै छाड्ने उनले बताए ।
उनले देशको विकासको लागि अब पार्टीहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने बताउँदै भने “यहाँ राप्रपा मात्रै सुध्रेर देश बन्ने वाला छैन, काँग्रेस एमाले माआवादी पनि सुध्रनु पर्छ, उनीहरुलाई अब सुधार्नको लागि अरु कुनै उपाय छैन, चुनावको दिन उनीहरुको बाकस खाली गर्ने हो ।”
ठुला दलका नेताहरुले अहिले कोट्याइ कोट्याइ नमस्कार गर्ने र मतदात गरिसकेको केही पलबाटै नमस्कार गर्ने हैन, नमस्कार फर्काउने मान्छे पनि नभेटिने उनले बताए । ठुला दलमा नातावाद मौलाएको प्रसङ्गलाई कोट्याउँदै उनले भने “५ वर्षमा एक दिन मतदान गर्दाको दिन मात्रै जनता माथि हो, अरु दिन संधै जनता हेपिएर चेपिएर बस्नुपर्छ, आफूलाई हेप्ने चेप्नेलाई तपाइले पनि धुलो चटाइदिनुहोस्, किन हेप्न चेप्नको लागि माथि पुर्याउनु हुन्छ ।”
चुनावी सभालाई सम्बोधन गर्दै लिङ्गदेनले भने “भोट हाल्ने भनेको चानचुने कुरा हैन, हात काटेर दिए सरह हो, त्यो आफूले काटेर दिएको त्यो हात तपाईलाई परेको बेलामा मद्दत गर्ने हैन, घाँटी अठ्याउने भयो भने के काम ।”
उनले अर्को प्रशंगमा भने “भोट दिनु भनेको छोरी दिनु जस्तै हो, बुझेर दिनुहोस्, भोली छोरीले दुख नपाओस् भनेर हामी कति विचार गर्छौ, भोट हाल्दा पनि हामीले त्यसरी नै गहिरीयर विचार गर्नुपर्छ ।”
राप्रपाले हेटौंडा उपमहानगरको मेयरको लागि उम्मेदवार बनाएको दीपकबहादुर सिंह र उपमेयरको लागि उम्मेदवार बनाएको इन्द्रीरा न्यौपानेलाई मतदान गर्न आग्रह गर्दै उनले भने “हलो बाहेकका साथीहरुले आफ्नो पार्टीका नेतालाई आफू एमालेमै छु भन्नुहोस् काँग्रेसमै छु भन्नुस, माओवादीमै छु भन्नुस, घरमा झण्डा पनि उही पार्टीको राख्नुस्, तर आफ्नो मत इमान्दार व्यक्तिलाई हाल्नुहोस् ।”
राप्रपाले सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने, वृद्धवृद्धालाई घरैमा स्वास्थ्य उपचार गर्ने जस्ता पुरा गर्न सक्ने कामको योजनाहरु मात्रै प्रतिवद्धताहरुको रुपमा अघि सारेको उनले बताए । “हामीले भन्नको लागि मात्रै योजना देखाएका छैनौ” उनले भनेका हैनौं ।
राप्रपाको नेतृत्व भएको अवस्थामा नगरको हरेक वडामा सस्तो औषधि पसलको व्यवस्था गरिने उनले बताए ।
