आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा होमिएका पार्टी नेतृत्वहरुको प्रतिवद्धता लिन हामीले केही प्रतिनिधिमुलक आवाज उठाउने जमर्को गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ का एमाले वडा अध्यक्ष पदम बजगाईंसँग गरिएको कुराकानीको सार:
म पदम बजगाईं, नेपाल कम्युनिष्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका ५ को पार्टी अध्यक्ष । हामी स्थानीय तह सदस्य निर्वाचनको एक मुखैमा आइपुगेका छौ । हामीले चुनावी प्रचारको रुपमा घरदैलो कार्यक्रम जारी नै राखेका छौ । अभियानकै रुपमा थालिएको घरदैलो सकिएपनि हामी सुस्ताएका छौनौ । जित्नको लागि मात्रै त हामीसँग चुनौति छैन, हामीले आफ्नो वडाबासीको सल्लाह सुझाव लिनको लागि पनि भेटघाटको कार्यक्रमलाई निरन्तरता दिएका हौ ।
एमालेको एजेण्डाकै कुरा गर्नु पर्दा चाही सबैभन्दा पनि पहिले काममा विश्वास गर्ने पार्टी हो । हामीले भोली यो गर्छौ, उ गर्छौ भनेर भाषण दिन भन्दा हाम्रो नेतृत्व रहदा हामीले गरेकै कारण एमाले चिनिदै आएको छ । हेटौंडाको यही ५ नम्बर वडामा होस् वा अन्य क्षेत्रमा एमाले नेतृत्वले गरेको विकास निर्माणका काम नै एमाले कस्तो पार्टी हो भनेर जनताले चिनेका छन् ।
फेरी पनि हामीले जित्नको लागि केही एजेण्डाहरु बजारमा छरेका छौंनौ, हामीसँग जे छ, हामी जे भनिरहेका छौ, हाम्रा प्रतिनिधिले आगामी ५ वर्षमा गर्ने र गर्नै पर्ने कामको खाका मात्रै हो ।
अबको ५ वर्षमा हेटौंडाको यो वडालाई कस्तो बनाउने भन्ने योजना हो हाम्रो । वडाको समग्र विकासको योजनाहरु हाम्रो टीमले अघि सारेको छ । वडाको सार्वजनिक भवनहरू मन्दिर, सामुदायिक भवन, पुस्तकालय, वन समितको सभाहल, प्रतिक्षालय, कृयापुत्री भवन मर्मत सुधार, रंगरोगन तथा संरक्षणदेखि नयाँ पर्यटकीय गन्तव्यको खोजि हाम्रो टीमको योजना हो । शान्ति पार्कको निर्माण तथा विस्तार, महिलाको सशक्तिकरण तथा आत्मनिर्भरताको खोजिमा हाम्रो टीमको योजना छ ।
वडाको नमुना स्कुल बालज्योति मा.विलाई प्रविधि मैत्री बनाउने योजना हामीले ल्याएका छौ । यो स्कुलमा स्थानीय आवश्यकता र विद्यार्थीको रुचि संम्भाव्यता अध्ययन गरी दश जोड दुई (प्लस टु) संचालन गरिनेछ । यहाँ अध्ययन गर्दै आएका दृष्टिविहिन विद्यार्थीहरुको आवासीय भवन, बर्षाको समयमा हुने डुबानको समस्यालाई हामीले समाधानको योजना बनाएका छौ ।
खेलकुद, संगित, कलाकारितालगायतका विषयहरुमा प्रतिभा भएका विद्यार्थीको रोष्टर अनुसार उनीहरुका लागि उपयुक्त तालिम, क्षमता अनुसारको कार्यक्रम ल्याउने छौ । यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजनाहरु छन् । युवा तथा खेलकुदका कार्यक्रहरु छन् ।
वडाको भाषा, कला, संस्कृतिको संरक्षण, विभिन्न सचेतनात्मक अभियान, राष्ट्रिय भावनाको जागृति, मानवीय मुल्य, सदाचार र नैतिकताको प्रवद्र्धन गरिने कार्यक्रमहरु हाम्रो योजनामा छन् ।

वडावासीलाई मेरो विनम्र अनुरोध छ कि हामीले अघि सारेको टीमलाई एक पटक चान्स दिनुहोस्, फेरी फेरीको कुरा हाम्रो टीमले गरेको कामले नै बताउने छ यहाँहरुलाई । यस पटक हेटौंडा ५ मा हाम्रो युवा उम्मेदवारहरुको टीम सुशिल घिमिरे, रञ्जिता सिलवाल, ज्ञानु थापा, रामबहादुर राई र भगवती बिकलाई मतदान गरिदिनु हुन मेरो अनुरोध छ ।

