मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले ठुलापार्टीहरुमा घमण्ड बढी भएको कारण अब जनताले सुधार्न नसक्ने अवस्था आएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देलले ठुला पार्टीलाई सुधार गर्ने एउटै उपाय भनेको चुनावमा उनीहरुको बाकस खाली गरिदिने विकल्प रहेको बताए ।
घुस खाने खुवाउने भनेको सामान्य कुरा नभएकोले यसलाई उन्मुलन गर्नुपर्ने उनले बताए । भ्रष्टचारको अन्त्यको लागि राप्रपाले नै जित्नुपर्ने उनले बताए । देशमा भ्रष्टचार अन्त्य गरेरै छाड्ने उनले बताए ।
उनले देशको विकासको लागि अब पार्टीहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने बताउँदै भने “यहाँ राप्रपा मात्रै सुध्रेर देश बन्ने वाला छैन, काँग्रेस एमाले माआवादी पनि सुध्रनु पर्छ, उनीहरुलाई अब सुधार्नको लागि अरु कुनै उपाय छैन, चुनावको दिन उनीहरुको बाकस खाली गर्ने हो ।”
ठुला दलका नेताहरुले अहिले कोट्याइ कोट्याइ नमस्कार गर्ने र मतदात गरिसकेको केही पलबाटै नमस्कार गर्ने हैन, नमस्कार फर्काउने मान्छे पनि नभेटिने उनले बताए । ठुला दलमा नातावाद मौलाएको प्रसङ्गलाई कोट्याउँदै उनले भने “५ वर्षमा एक दिन मतदान गर्दाको दिन मात्रै जनता माथि हो, अरु दिन संधै जनता हेपिएर चेपिएर बस्नुपर्छ, आफूलाई हेप्ने चेप्नेलाई तपाइले पनि धुलो चटाइदिनुहोस्, किन हेप्न चेप्नको लागि माथि पुर्याउनु हुन्छ ।”
चुनावी सभालाई सम्बोधन गर्दै लिङ्गदेनले भने “भोट हाल्ने भनेको चानचुने कुरा हैन, हात काटेर दिए सरह हो, त्यो आफूले काटेर दिएको त्यो हात तपाईलाई परेको बेलामा मद्दत गर्ने हैन, घाँटी अठ्याउने भयो भने के काम ।”
उनले अर्को प्रशंगमा भने “भोट दिनु भनेको छोरी दिनु जस्तै हो, बुझेर दिनुहोस्, भोली छोरीले दुख नपाओस् भनेर हामी कति विचार गर्छौ, भोट हाल्दा पनि हामीले त्यसरी नै गहिरीयर विचार गर्नुपर्छ ।”
राप्रपाले हेटौंडा उपमहानगरको मेयरको लागि उम्मेदवार बनाएको दीपकबहादुर सिंह र उपमेयरको लागि उम्मेदवार बनाएको इन्द्रीरा न्यौपानेलाई मतदान गर्न आग्रह गर्दै उनले भने “हलो बाहेकका साथीहरुले आफ्नो पार्टीका नेतालाई आफू एमालेमै छु भन्नुहोस् काँग्रेसमै छु भन्नुस, माओवादीमै छु भन्नुस, घरमा झण्डा पनि उही पार्टीको राख्नुस्, तर आफ्नो मत इमान्दार व्यक्तिलाई हाल्नुहोस् ।”
राप्रपाले सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने, वृद्धवृद्धालाई घरैमा स्वास्थ्य उपचार गर्ने जस्ता पुरा गर्न सक्ने कामको योजनाहरु मात्रै प्रतिवद्धताहरुको रुपमा अघि सारेको उनले बताए । “हामीले भन्नको लागि मात्रै योजना देखाएका छैनौ” उनले भनेका हैनौं ।
राप्रपाको नेतृत्व भएको अवस्थामा नगरको हरेक वडामा सस्तो औषधि पसलको व्यवस्था गरिने उनले बताए ।

