आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा होमिएका पार्टी नेतृत्वहरुको प्रतिवद्धता लिन हामीले केही प्रतिनिधिमुलक आवाज उठाउने जमर्को गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ का एमाले वडा सचिव सुरेश लामिछानेसँग गरिएको कुराकानीको सार:
म सुरेश लामिछाने, नेपाल कम्युनिष्ट पार्टी एमाले हेटौंडा ५ को वडा सचिव । हामी निर्वाचनको संघारमा आइपुगेका छौ । स्थानीय तहको निर्वाचनको संघारमै आइपुग्दा हामीले हाम्रो वडामा जितको लागि अभियान जारी राखेका छौ । मतदातालाई प्रशिक्षित गर्ने, उहाँहरुको सुझाव र अपेक्षाहरु संकलन गर्ने काम हामीले गरिरहेका छौ ।
यो अन्तिम अन्तिम अवस्थामा आइपुग्दा हामीले निर्वाचन प्रचारको लागि २ चरणको घरदैलो कार्यक्रम सकेका छौ । सँगै हामीले मतदातालाई भोट गर्ने तरीकाहरु पनि सिकाइरहेका छौं । कसैलाई आशा र प्रभावमा परेर चुनाव जित्ने संकल्प हामीलसँग छैन । हामीले हाम्रो पार्टीले गर्न सक्ने कामको बारेमा मात्रै कुरा गरिरहेका छौ हाम्रो चुनावि एजेण्डा पनि गर्न सक्ने कामकै बारेमा मात्रै छन् ।
हामीले हाम्रो वडाको समग्र विकास र समृद्धिको लागि संकल्प तयार गरेका छौ । नेकपा एमाले भनेर मात्रै हैन गरेर देखाउने पार्टी हो । हामीले भौतिक पूर्वाधारसँगै सामाजिक तथा वातावरणीय सवालमा गर्ने कामहरुको विषयमा कुरा उठाएका छौ । वडामा ज्येष्ठ नागरिक पार्क बनाउने योजना हामीसँग छ । अपाङ्गता मैत्री, महिला मैत्री, बालमैत्री वडा बनाउने हाम्रो योजनाहरु छन् ।
दुर्घटना, आगलागि वा अन्य विपद् वा संकटको बेला आकस्मिक उद्वार एवम् प्राथमिक उपचारको कार्य गर्न आकस्मिक उद्वार वा रेस्पोन्स टिम तयार गर्ने, वडालाई वातावरण मैत्री हरित वडा बनाईने, सार्वजनिक जमिनको खोजी एवम् पहिचान गरि संरक्षण गर्ने, शहरी सौन्दर्य वृद्धिका लागि अस्तब्यस्त तारहरुको व्यवस्थापन गर्ने, जोखिममा रहेका जिर्ण विद्युतका पोलहरुको सट्टामा नयाँ पोलहरुको व्यवस्था गर्ने, वडाभित्र रहेका मठमन्दिर, पाटी पौवाहरुको संरक्षण गर्ने धेरै महत्वपूर्ण र दुरगामी महत्व राख्ने योजनाहरु छन् ।

अब मतदानको लागि केही समय मात्रै बाँकी छ । आजसम्मको घरदैलो अभियान तथा कोणसभाहरुको प्रतिक्रियाबाट हामी एकदम उत्साही पनि छौं । हाम्रो वडाबाट उम्मेदवार रहनु भएको शुसिल घिमिरे, रञ्जिता सिलवाल, ज्ञानबहादुर थापा, रामबहादुर राई र भगवती बिक एकदम सक्षम र उर्जाशिल युवाहरु हुनुहुन्छ । उहाँहरुको टिमले वडाको नेतृत्व गर्न पाउँदा अवश्य पनि वडाको समृद्धि संभव छ । त्यसैले नेकपा एमालेको यो टिमलाई जिताउनको लागि मेरो वडावासीलाई हार्दिक अपिल छ ।

