मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर सक्रिय राजनीति गरेका मधु अधिकारी राप्रपा परित्याग गरेसँगै गठबन्धनकाे पक्षमा उभिएका छन् । चार दशक भन्दा बढी समयदेखि राप्रपामा रही काम गरेका अधिकारी हेटौंडा–४ मा गठबन्धनले प्रदर्शन गरेको ¥यालीपछिकाे कोणसभालाई सम्बोधन गर्दै गठबन्धनकाे पक्षमा उभिएका हुन् ।
शुक्रबार राप्रपा परित्याग गरेका अधिकारी गठबन्धनको पक्षमा उभिँदै गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतसहित विजयी गराउन आग्रह गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको जित भनेको संविधानको जित हुने बताए । गठबन्धनले जितेमा संविधानको रक्षा हुने र त्यसका लागि पनि गठबन्धनको जित आवश्यक रहेको अधिकारीले दाबी गरे । ‘संविधानलाई संकटमा लैजान खोज्ने एमालेले चुनाव जित्न सक्दैन ।’ उनले भने, ‘एमालेलाई सँधैका लागि पाखा लगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनले जित्न जरुरी छ ।’
गठबन्धनले एकजुट भएर एमालेलाई पत्तासाफ गर्नुपर्ने उनले बताए । हेटौंडा उपमहानगरको मेयरका उम्मेदवार मिना कुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँले जितेमा र गठबन्धनका सबै उम्मेदवारले जितेमा सहरको विकासलाई तीब्र गतिसँगै योजनासहित अघि बढाउन सकिने उनको भनाइ थियो ।

