मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचनमा गठवन्धन बाहेको ब्यक्ति वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएका आफ्ना कार्यकर्तालाई कारवाही गर्ने भएकाे छ । कांग्रेसले गठवन्धन बाहेको ब्यक्ति वा उम्मेदवारको सामजिक सञ्जालमा प्रचार गर्ने आफ्ना कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा केन्द्रीय गठवन्धनको निर्णयबाट तिब्र असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र, बागी तथा अन्य उम्मेदवारको प्रचार गर्न थालेपछि कांग्रेस मकवानपुरको चेतावनी आएको हो । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेसले चुनावमा गठवन्धनका उम्मेद्वारलाई विजयी गराउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौंलागाईले जिल्लाको १० वटै स्थानीय तहमा उम्मेदवार बनेका गठबन्धनका व्यक्तिलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको नीति र निर्णय बिरुद्ध कांग्रेसका कार्यकर्ता लाग्न नहुने भन्दै उनले यस्ता क्रियाकलापमा सहभागी भएको थाहा भए विधान बमोजिम कारबाही हुने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुर जिल्ला अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले कांग्रेसको सदस्यहरु गठवन्धनको विषयमा भ्रममा पर्न नहुने भन्दै पार्टी हित विपरित कार्य गरे कारबाहीमा पर्ने बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत लगायतकाे सहभागिता थियो ।

