मकवानपुर ।विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ ।
५० औँ विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले आजबाट २२ जेठसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
‘सबैको साझा पृथ्वी’ भन्ने मूल नाराका साथ यस वर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् आज रक्तदान कार्यक्रमको आयोजना हुने संयोजक अधिकारीले जानकारी दिए । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ को संयोजनमा बिहान ७ बजेबाट हेटौंडा–११ स्थित सामूदायिक प्रहरी सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिने अधिकारीले बताए ।
जेठ १७ गते खानेपानी व्यवस्थापन बोर्डको संयोजनमा खानेपाी सरसफाई स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिनेछ । अन्तरक्रिया हेटौंडास्थित रोयल प्यालेसमा आयोजना गरिने जनाइएको छ ।
कार्यक्रम तालिका अनुसार १८ गते हेटौंडा–८ राजपानीमा वडा समन्वय समितिको संयोजनमा वृक्षारोपण कार्यक्रम हुनेछ । यसैगरी १८ र १९ गते सामूदायिक वन उपभोक्ता महासंघको संयोजनमा राप्ती खोला विशेष सरसफाई कार्यक्रम, १९ गते ४० माइक्रोन तलको प्लाष्टिक झोलामा लगाइएको प्रतिबन्ध सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया २० गते बजार क्षेत्र विशेष सरसफाई, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, २१ गते वातावरण सचेतनामूलक साईकल र्याली र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता र रानी सामूदायिक वनको कार्यालयमा वक्तृत्वकला प्रतियोगिता तथा जेठ २२ गते ( जुन ५) ५० औं विश्व वातावरण दिवसको दिन बिहान ७ हुप्रचौरबाट बाजागाजा झाँकीसहितको वृहत वातावरणीय सचेतना र्याली निकालिने छ । हुप्रचौरबाट बजार परिक्रमा गर्दै रोयल प्यालेसमा समापन कार्यक्रम आयोजना हुनेछ ।
उक्त कार्यक्रममा उत्कृष्ट सन्देशमुलक झाँकीसहित सहभागिता जनाउने टोल विकास संस्था, सामूदायिक संघ संस्था र विद्यालयहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने अधिकारीले जानकारी दिए ।
मकवानपुर । सरकारले आर्थिक वर्ष २०७९/८० बजेट सार्वजनिक गरेकाे छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री जनार्दन शर्माले आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको ल्याएकाेमा संघीय सरकारका अर्थमन्त्री शर्माले आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन रहने गरी बजेट ल्याएका हुन ।
चालु आवमा सरकारले राजस्व १२ खर्ब ४० अर्ब ११ करोड स्राेत जुटाउने लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकाे सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने भएकाे छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले संसदमा जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेटको पूर्ण पाठ हेर्नुहाेस
मकवानपुर । आइतबार दिउसो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
संबैधानिक ब्यबस्था अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने हुन्छ । आजै संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यसअघि हिजो शनिबार बसेको संसद बैठकबाट सरकारको नीती तथा कार्यक्रम पारित गरेको थियो ।
मकवानपुर । पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यन्त्री राजेन्द्र पाण्डेले शुभकामना व्यक्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शर्मा र पाण्डेले यसतर्फ लागि पर्न सबैलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको उल्लेख गरेका छन् । नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरणमा जारी गरिएको शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरूप्रति श्रद्दासुमन अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दै शर्माद्वारा जारी सन्देशमा भनिएको छ “ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको छ । ’
यस्तै, सन्देशमा सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको पनि उल्लेख छ । उनले भनेका छन् “यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको छ ।”
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शहिदहरुको सपना साकार गर्न सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै उनले लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि पटक–पटक भएका आन्दोलन तथा विभिन्न आरोह–अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज चौध वर्ष पूरा भएको बताएका छन् ।
गणतन्त्र स्थापना पश्चात भर्खरै सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भई सकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनले संघीय गणतन्त्रको आधारभूत तहलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्याएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
राज्य सञ्चालनका सन्दर्भमा आम नेपालीको अपेक्षा तथा वीर अमर शहिदका सपना साकार पार्नु तीनै तहको सरकार सहित हामी सबैको सामुहिक दायित्व र कर्तव्यको रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले सन्देशमा उल्लेख गरेका छ । लामो संघर्ष पश्चात संविधान सभाबाट जारी भएको संघिय¸ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा¸ समावेशी लोकतन्त्रको रक्षाका लागि अझै पनि संगठित हुदैँ संविधान विरोधी¸ लोकतन्त्र विरोधी तत्वहरुलाई टाउको उठाउन नसक्ने बनाउन अरु बढि चनाखो हुन जरुरी रहेको पाण्डेले बताए । संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि अझै निरन्तर लागि रहन आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
मकवानपुर । संघीय सरकारले आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिने भएको हो । नेपाल सरकारले जेठ १५ गते बजेट सार्बजनिक गर्नु पर्ने संवैधानिक ब्यबस्था रहेको छ ।
यस्तै प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन ।
नीति तथा कार्यक्रम सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा अर्थतन्त्रमा बाह्य चाप परिरहेको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । यसै वर्ष सङ्घीय संसद् सदस्यको निर्वाचन तथा प्रदेशसभाको निर्वाचनसमेत सम्पन्न गर्नुपर्ने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
त्यसपछी प्रतिनिधिसभाको बैठक आइतबार साँझ ६ बजे बस्नेछ । उक्त बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुने तथा पारित गरिने छ ।
