मकवानपुर । आर्थिक वर्ष २०७९ /०८० लाई घुमफिर वर्षको रुपमा मनाइने भएको छ । बागमती प्रदेशको सरकारले आन्तरीक पर्यटन प्रबद्धनको लागि घुमफिर वर्षको रुपमा मनाइने भएको हो ।
प्रदेश भित्रको पर्यटकीय गन्तव्यहरुमा साइकल लेनदेखि निशुल्क इन्टरनेट सुविधाको व्यवस्था गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
बजेटको पूर्ण पाठ यहाँ सुन्न सकिने छ ।
मकवानपुर । आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले चालु आज को भन्दा १२ प्रतिशत बढाएर बजेट ल्याउने तयारी गरेको छ ।
बागमती प्रदेश सरकारले आफनो पाँचको वर्षिक कार्यकालको अन्तिम बजेट प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेलले दिउँसो ४ बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभामा आज प्रस्तुत हुने आर्थिक वर्ष २०७९÷८० को बजेट चालु आवको भन्दा १२ प्रतिशतले बढी हुने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ६४ अर्ब रुपैया बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ ।
आउँदो आर्थिक वर्षमा करीब १२ प्रतिशत रकम बढाएर बजेट ल्याउने तयारी गरिएको हो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटसमेत जोडेर संघीय र प्रादेशिक चुनावलाई लक्षित गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको स्रोतले बताएको छ ।
बजेट केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्दै चुनाव लक्षित बनाईएको बताइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण, कृषि, साना उद्योग र रोजगारी सिर्जना, करको दायरा बढाउने र खर्च घटाउने, प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने, संघीयताको मर्म र भावनालाई समेटेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रलाई बढी प्राथमिकता दिइएको उनले बताए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चक्लाबन्दी खेतीलाई प्रोत्साहन, बाँझो जमिन बैंक स्थापना, कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र त्यस्तो वस्तु वा बाली किन्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्न प्रक्रिया थाल्ने, कृषकलाई परिचयपत्र वितरण गर्ने, परिचयपत्रका आधारमा सहुलियत दिने, प्रदेश भित्रका खरका छाना उन्मुलन र पर्यटन प्रबद्धनका जस्ता पुराना योजानाहरुलाई निरन्तरता दिने योजना रहेको बुझिएको छ ।
मकवानपुर । एकातिर मनसुन सुरु भएको छ । अर्कोतिर बजेट सिद्याउने चटारो सुरु भएको छ ।
स्थानीय तह शहिद स्मृती गोल्डकप वर्षाको कारण २ दिन स्थगीत हुँदा प्रतिदिन १ लाखभन्दा बढी अतिरीत्त खर्च भएको थियो । यो यथार्थ जानकारी हुँदा हुँदै मनसुनको मध्यमा राष्ट्रपति रनिङ शिल्डको तयारी भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड वृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने तयारी भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकामा असार ३ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी हुँदै गरेको बुझिएको छ । सबै नगर र गाउँपालिकाहरुमा यो खेल असारको झरीमै हुने भएको छ ।
प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरी सहमति हुँदा सबैजसो पालिकाले मनसुन सुरु भएपछि प्रतियोगित गर्ने गरेका छन् ।
जसले गर्दा खेलको प्रभावकारीता भन्दा बजेट सिद्याउने प्रतिष्पिर्धा हुने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । हतार हतार मनसुनमा खेल हुँदा न विद्यालयहरुले आफ्नो तयारी गर्न भ्याउँछन्, न त आयोजकले खेलको प्रभावकारीतामा ख्यालगर्न सक्छ ।
“पालिकाले छुट्याएको बजेट फ्रिज नहोस् भन्ने हेतुले प्रतियोगिता गराउनै पर्ने बाध्यातालाई पन्छाउन गरिने यस्तो प्रतिस्पर्धाले स्थानीय तहमा खेलाडी उत्पादन हुन्छन् कि औपचारीता मात्रै पुरा हुन्छ ?” थाहा नगरका एक खेलप्रेमीले भने ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया स्थित जनप्रिय माध्यामिक विद्यालयमा गणित विषयकाे प्रयाेगशाला स्थापना भएकाे छ । जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रियमा गणित विषय शिक्षणका लागि प्रयाेगशालाकाे मंगलबार उद्घाटन गरिएकाे हाे ।
विद्यालयका गणित विषय विभागका शिक्षक तथा विद्यार्थीहरुकाे सक्रियतामा निर्माण गरिएको ल्यावको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले उद्घाटन गरेका हुन् ।
गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय हुँदाहुँदै पनि त्यसको मूर्त धारणा बसाउन प्रयाेगशालाकाे अभावमा बालबालिकाले कठीनाई महशुस गर्ने गरेकाेले गणित ल्याव स्थापना गरिएकाे गणित विषय विभागका संयाेजक भूपेन्द्र चौलागाईले बताए । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दती एवम् अभ्यासबाट सुत्रतर्फ लैजान सकिने चौलागाईले बताए । ल्यावको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन खास धारणा निर्माण गर्न सकिने पनि उनले बताए ।
छोटो समयमा गणित प्रयाेगशाला निर्माण गरिएकाले यस्को अझै विस्तार गरिने र विद्यालयले बालबालिकाको पठनपाठनमा आवश्यक कुनैपनि सामग्री अपुग हुन नदिने प्रधानाध्यापक नमराज अर्यालले बताए । गणित प्रयोगशाला निर्माण कार्यबाट भाइबहिनीहरूमा रचनात्मक क्षमताको विकास हुने र आउँदा दिनहरूमा अंग्रेजी तथा सामाजिक प्रयोगशालाहरूलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने अर्यालले बताए ।
हेटौंडा १६ का वडा अध्यक्ष कोईरालाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोईरालाले जनप्रिय मावि यस्ताखाले गतिविधीले गर्दा पनि नमूना बन्न सफल रहेको बताए । आगामी दिनमा पनि विगत जस्तै स्थानीय सरकारका तर्फबाट होस् वा ब्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको उनले बताए ।
विद्यालयले सिर्जनात्मक क्रियाकलापमार्फत् अध्यापन कार्य गर्न गराउनु समेत उनले आग्रह गरेका छन् । उनले शिक्षक विद्यार्थिको यो उत्साहजनक कार्यका लागि गणित विषय ल्यावको कोषमा रहनेगरि ब्यक्तिगत रुपमा १० हजार रकम समेत कार्यक्रममा सिनियर म्याथ क्लवकी संयोजक सलिना गुर्मछानलाई हस्तान्तरण गरेका छन् । यसैगरी व्यवस्थापन समिति सदस्य कृष्ण पनेरुले पनि ब्यक्तिगत रुपमा रु ५ हजार रकम ल्याव कोषमा रहनेगरी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कक्षा १० की छात्रा द्वय स्नेहा दाहाल र सुरक्षा घिमिरेले गणित विषय सम्वद्ध सामग्रीको नमूना प्रस्तुती समेत गरेका थिए । कक्षा १० मा अध्ययनरत छात्र नविन श्रेष्ठले स्वागत गरेको कार्यक्रमलाई छात्राकृतिका बरालले सहजिकरण गरेको कार्यक्रममा रोटरी क्लव मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा शिक्षक अभिभावक संघ का सदस्य बुद्धप्रसाद दाहाल प्रधानाध्यापक अर्याल, सहायक प्रअ रामआशिष मण्डल, समाजसेवी धीरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल, शिक्षकहरु लक्ष्मी श्रेष्ठ, रविन श्रेष्ठ, कल्याणकृष्ण प्याकुर्याल, सम्प्रस पौडेल, उमा श्रेष्ठ, अभिनन्द सुब्बा,युक्तलाल विश्वकर्मा, सुनिल गौतमलगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८–७९ पेश गरेका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा अर्थमन्त्री जमकट्टेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८–७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ९उत्पादकको मूल्यमा० ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी अर्थात ३६ दशमलब ९ प्रतिशत रहेको बताए ।
उनले १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताए । बागमती प्रदेशसभाको बैठकमा प्रदेश लोकसेवा आयोग ०७७–०७८ को बार्षिक प्रतिवेदन सहित पाँच वटा प्रतिबेदनहरु पेस भएका छन् ।
बैठकमा प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७–०७८ को बार्षिक प्रतिवेदन पेश गरेका छन् । बजेट ल्याउने अघिल्लो दिन आज प्रदेश सरकारले पाँच वटा प्रतिबेदनहरु पेस गरेको हो ।
प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
भोली प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि बजेट पेश हुने छ ।
