मकवानपुर । आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले चालु आज को भन्दा १२ प्रतिशत बढाएर बजेट ल्याउने तयारी गरेको छ ।
बागमती प्रदेश सरकारले आफनो पाँचको वर्षिक कार्यकालको अन्तिम बजेट प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेलले दिउँसो ४ बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभामा आज प्रस्तुत हुने आर्थिक वर्ष २०७९÷८० को बजेट चालु आवको भन्दा १२ प्रतिशतले बढी हुने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ६४ अर्ब रुपैया बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ ।
आउँदो आर्थिक वर्षमा करीब १२ प्रतिशत रकम बढाएर बजेट ल्याउने तयारी गरिएको हो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटसमेत जोडेर संघीय र प्रादेशिक चुनावलाई लक्षित गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको स्रोतले बताएको छ ।
बजेट केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्दै चुनाव लक्षित बनाईएको बताइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण, कृषि, साना उद्योग र रोजगारी सिर्जना, करको दायरा बढाउने र खर्च घटाउने, प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने, संघीयताको मर्म र भावनालाई समेटेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रलाई बढी प्राथमिकता दिइएको उनले बताए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चक्लाबन्दी खेतीलाई प्रोत्साहन, बाँझो जमिन बैंक स्थापना, कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र त्यस्तो वस्तु वा बाली किन्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्न प्रक्रिया थाल्ने, कृषकलाई परिचयपत्र वितरण गर्ने, परिचयपत्रका आधारमा सहुलियत दिने, प्रदेश भित्रका खरका छाना उन्मुलन र पर्यटन प्रबद्धनका जस्ता पुराना योजानाहरुलाई निरन्तरता दिने योजना रहेको बुझिएको छ ।

