मकवानपुर । एकातिर मनसुन सुरु भएको छ । अर्कोतिर बजेट सिद्याउने चटारो सुरु भएको छ ।
स्थानीय तह शहिद स्मृती गोल्डकप वर्षाको कारण २ दिन स्थगीत हुँदा प्रतिदिन १ लाखभन्दा बढी अतिरीत्त खर्च भएको थियो । यो यथार्थ जानकारी हुँदा हुँदै मनसुनको मध्यमा राष्ट्रपति रनिङ शिल्डको तयारी भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड वृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने तयारी भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकामा असार ३ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी हुँदै गरेको बुझिएको छ । सबै नगर र गाउँपालिकाहरुमा यो खेल असारको झरीमै हुने भएको छ ।
प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरी सहमति हुँदा सबैजसो पालिकाले मनसुन सुरु भएपछि प्रतियोगित गर्ने गरेका छन् ।
जसले गर्दा खेलको प्रभावकारीता भन्दा बजेट सिद्याउने प्रतिष्पिर्धा हुने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । हतार हतार मनसुनमा खेल हुँदा न विद्यालयहरुले आफ्नो तयारी गर्न भ्याउँछन्, न त आयोजकले खेलको प्रभावकारीतामा ख्यालगर्न सक्छ ।
“पालिकाले छुट्याएको बजेट फ्रिज नहोस् भन्ने हेतुले प्रतियोगिता गराउनै पर्ने बाध्यातालाई पन्छाउन गरिने यस्तो प्रतिस्पर्धाले स्थानीय तहमा खेलाडी उत्पादन हुन्छन् कि औपचारीता मात्रै पुरा हुन्छ ?” थाहा नगरका एक खेलप्रेमीले भने ।

