मकवानपुर । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १२ असारमा सार्वजनिक गरिएको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहाेरीने गरी तयारी गरिएको छ । उपमेयर राजेश बाँनियाले सभामा बजेट पेश गर्दैछन् ।
मकवानपुर । आजलाई आव्हान गरिएको नगरसभा २ घण्टापछि सुरूहुने भएको छ । १ बजेको लागि बोलाईएको नगरसभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरू आज पनि अनुपस्थित जनाउने निर्णय गरेका थिए ।
नेकपा एमाले सम्बद्व ५४ जना बहुमत सदस्यले पेश गरेकाे संसाेधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने भएको सहमति भएपछि हेटौंडाको एघारौं नगरसभा आजै हुने भएको हो ।
यसैगरी विषयगत समितिहरू सहमतिकाे आधारमा निर्माण गर्ने, बजेट निर्माणमा सामुहिक छलफलबाट टुङ्गाे लगाउने प्रतिबद्वता नगर प्रमुखबाट भएपछि ३ बजे शुरू हुने भएकाे वडा अध्यक्ष नविन सिग्देलले बताए ।
मकवानपुर । वैदेशिक रोजगारको क्रममा भएको ठगी, मृत्यु तथा विदेशी रोजगारदाता कम्पनी वा व्यक्तिसँग असुल गर्न बाँकी २ करोड ५२ लाख ५७ हजार रुपियाँ सम्बन्धित परिवारलाई उपलब्ध गराइएको छ ।
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरमा सञ्चालित सुरक्षित आप्रवासन स्रोत केन्द्रले उक्त रकम पीडितलाई फर्काउन सफल भएको हो । पीडितहरुलाई न्यायमा पहुँच वृद्धिको लागि सहयोग गर्ने क्रममा १८ वटा ठगीको, १५ वटा उद्दार तथा २४ वटा मृत्युको घटनामा उक्त रकम दिलाउन सफल भएको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक अन्जिता थापा मगरले बताइन् । लामो समयको पहलपछि उक्त रकम पीडितलाई दिलाउन सफल भएको उनले बताइन् ।
केन्द्रमा ठगीको ५० वटा, उद्दारको २५ वटा तथा मृत्युको २८ वटा केस दर्ता भएकोमा अन्य केसहरुको काम प्रक्रियामा रहेको बताइएको छ ।
विदेश जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाहरुको परिवारलाई वित्तिय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट सूचना तथा अनुभव आदन प्रदानको लागि यो परियोजनाले समुदायस्तरका काम गर्ने गरेको छ ।
एकीकृत ग्रामिण विकास सेवा संस्थाको साझेदारीमा यो परियोजना स्थानीय तहमार्फत नै सञ्चालन हुदैं आएको छ । केन्द्र मार्फत गतवर्ष ६४ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो भने यो वर्ष ८५ जनालाई यो सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुर, सुरक्षित आप्रवासन परियोजना अन्तरगत मनोसामाजिक परामर्शकर्ता पार्वती बिकले बताइन् ।
परियोजनाको वार्षिक समिक्षाको लागि आयोजना गरिएको कार्यक्रममा हेल्भिटास नेपाल कार्यक्रम अधिकृत उमा पौडेलले केही स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाललाई महत्व दिएको भए पनि धेरै जसो स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाल आफ्नो सवालको रुपमा नलिएको गुनासो गरिन् ।
“स्थानीय तहहरुले नीति तथा कार्यक्रम ल्याएका छन्, धेरैले वैदेशिक रोजगारको क्रममा हुने समस्या, चुनौती तथा त्यसलाई व्यवस्थित गर्न आवश्यक तयारीबारे कुनै नीति नै लिएका छैनन्” पौडेलले भनिन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले परिवारलाई समृद्ध, सुमधुर र वित्तिय रुपमा सफल बनाउन यो परियोजनाको महत्वपूर्ण योगदान रहेको बताइन् । विगतका जनप्रतिनिधिहरुले भौतिक विकास निर्माणमा चासो राखेको भएपनि अवका जनप्रतिनिधिहरुले सामाजिक विकासमा ध्यान दिने अपेक्षा आफूले राखेको लामिछानेले बताइन् ।
एकीकृत ग्रामिण विकास संस्थाका सचिव मिनराज पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा समुदाय स्तरमा रहेर सेवा प्राप्त गरेका महिलाहरुले आफ्नो विगतको समस्या र सफलताको बारेमा अनुभव आदन प्रदान गरेका थिए ।
मकवानपुर । आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेपछि आज बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
दिउँसो २ बजेका लागि बोलाईएको प्रदेश सभामा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल हुने कार्य सूचि भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टी जनाएको छ ।
उसले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ७० अर्ब ९३ करोड रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।
मकवानपुर । काठमाडौको दुध स्वास्थकर नभएकोले आफूले कालो चिया खाने गरेको बागमती प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमगाईंले बताएका छन् ।
दुध संकलन,भण्डारण तथा वितरण प्रक्रिया गुणस्तरीय नभएको दाबि गर्दै उनले दुधको गुणस्तरीयतामा उपभोक्ता ढुक्क हुने अवस्था नभएको बताएका हुन् ।
बागमती प्रदेश दुग्ध विकास बोर्डले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा मन्त्री हुमगाईंले यस्तो बताएका हुन् । “तपाईंहरूले संकलन गरेको दुधमा कस्तो गुणस्तरीयता कामय गर्नु भएको छ, उपभोक्ता ढुक्क छन् ?” मन्त्री हुमगाईंले भने ” म आफै काठमाडौं पसेपछि दुध खान्न, कालो चिया खान्छु ।” काठमाडौको दुधमा गुणस्तरीयता नभएकोले खान शंका लाग्ने गरेको बताए ।
“गुणस्तरीय दुध उपभोक्तालाई दिन सकेका छैनौ, गुणस्तरीय दुध बजारमा ल्याए खपत दोब्बर हुन्छ” उनले भने “दुध नफाट्नु मात्रै गुणस्तरीयता कायम छ भन्ने हैन ।” धेरै दुध खपत हुने सेना प्रहरी क्षत्रमा धुलो दुध बिक्रीवितरण हुने गरेको उल्लेख गर्दै मन्त्री हुमगाईले भने “सेना प्रहरी धुलो दुध किन्न छाडेर फ्रेस दुध किन्ने गरी विश्वासनियता बढाउनुहोस, केहि घण्टा राख्दा नजम्ने, स्वाद नबिग्रने बनाएर पठाउन कि हुदैन बिक्री ?”
दुध संकलन गर्दा गोठदेखि ओठसम्म मापदण्डअनुसारको गुणस्तरीयता कायम राख्न मन्त्री हुमगाईले आग्रह गरे । व्यवसायीहरूले दुध उत्पादन बढाउन र संकलन गर्नेमा मात्रै ध्यान दिने तर गुणस्तरीयता कामय नगर्ने हो भने खपतमा समस्या हुने उनले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडामा आयोजित दुग्ध क्षेत्रको समस्या र समाधान सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“दुधमा आत्मनिर्भर बन्दै छौ,वृद्धि गर्न ध्यन दिंदा त्यस्तै योजनाहरू चाहिन्छ, ठुला फार्म खोल्ने, लागत घटाउदै उत्पादन बढाउन, किसानलाई रोजगार र व्यवसायी बनाउन ध्यान दिनुपर्ने पनि मन्त्री हुमगाईले बताए ।
मन्त्री हुमगाईले किसानबाट अनुदान नपाएको गुनासो आएकोले त्यस प्रति प्रदेश सरकारले ध्यान दिएको बताए ।
बिभिन्न संस्थाहरूले आफ्नो आफ्नो तथ्यांक देखाउने गरेको प्रति पनि उनले प्रश्न गरे । “कृषिको सवालमा सही तथ्यांक कहि छैन, मेरै कार्यलयको पनि तथ्यांक सही छ भन्ने लाग्दैन मलाई । तथ्यांक स्थानीय तहबाट आउनुपर्छ तपाईंले कार्यालयमा बसेर टिपेको तथ्यांक सही होलान् र ?”
सरकारी संस्थानहरू कमजोर हुंदै आउनुमा विश्वसनीयता कामय गर्न सक्नु मुख्य समस्या रहेको उनले बताए । कार्यक्रममा दुधको उत्पादन भण्डारण तथा खपतबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
