मकवानपुर । काठमाडौको दुध स्वास्थकर नभएकोले आफूले कालो चिया खाने गरेको बागमती प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमगाईंले बताएका छन् ।
दुध संकलन,भण्डारण तथा वितरण प्रक्रिया गुणस्तरीय नभएको दाबि गर्दै उनले दुधको गुणस्तरीयतामा उपभोक्ता ढुक्क हुने अवस्था नभएको बताएका हुन् ।
बागमती प्रदेश दुग्ध विकास बोर्डले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा मन्त्री हुमगाईंले यस्तो बताएका हुन् । “तपाईंहरूले संकलन गरेको दुधमा कस्तो गुणस्तरीयता कामय गर्नु भएको छ, उपभोक्ता ढुक्क छन् ?” मन्त्री हुमगाईंले भने ” म आफै काठमाडौं पसेपछि दुध खान्न, कालो चिया खान्छु ।” काठमाडौको दुधमा गुणस्तरीयता नभएकोले खान शंका लाग्ने गरेको बताए ।
“गुणस्तरीय दुध उपभोक्तालाई दिन सकेका छैनौ, गुणस्तरीय दुध बजारमा ल्याए खपत दोब्बर हुन्छ” उनले भने “दुध नफाट्नु मात्रै गुणस्तरीयता कायम छ भन्ने हैन ।” धेरै दुध खपत हुने सेना प्रहरी क्षत्रमा धुलो दुध बिक्रीवितरण हुने गरेको उल्लेख गर्दै मन्त्री हुमगाईले भने “सेना प्रहरी धुलो दुध किन्न छाडेर फ्रेस दुध किन्ने गरी विश्वासनियता बढाउनुहोस, केहि घण्टा राख्दा नजम्ने, स्वाद नबिग्रने बनाएर पठाउन कि हुदैन बिक्री ?”
दुध संकलन गर्दा गोठदेखि ओठसम्म मापदण्डअनुसारको गुणस्तरीयता कायम राख्न मन्त्री हुमगाईले आग्रह गरे । व्यवसायीहरूले दुध उत्पादन बढाउन र संकलन गर्नेमा मात्रै ध्यान दिने तर गुणस्तरीयता कामय नगर्ने हो भने खपतमा समस्या हुने उनले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडामा आयोजित दुग्ध क्षेत्रको समस्या र समाधान सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“दुधमा आत्मनिर्भर बन्दै छौ,वृद्धि गर्न ध्यन दिंदा त्यस्तै योजनाहरू चाहिन्छ, ठुला फार्म खोल्ने, लागत घटाउदै उत्पादन बढाउन, किसानलाई रोजगार र व्यवसायी बनाउन ध्यान दिनुपर्ने पनि मन्त्री हुमगाईले बताए ।
मन्त्री हुमगाईले किसानबाट अनुदान नपाएको गुनासो आएकोले त्यस प्रति प्रदेश सरकारले ध्यान दिएको बताए ।
बिभिन्न संस्थाहरूले आफ्नो आफ्नो तथ्यांक देखाउने गरेको प्रति पनि उनले प्रश्न गरे । “कृषिको सवालमा सही तथ्यांक कहि छैन, मेरै कार्यलयको पनि तथ्यांक सही छ भन्ने लाग्दैन मलाई । तथ्यांक स्थानीय तहबाट आउनुपर्छ तपाईंले कार्यालयमा बसेर टिपेको तथ्यांक सही होलान् र ?”
सरकारी संस्थानहरू कमजोर हुंदै आउनुमा विश्वसनीयता कामय गर्न सक्नु मुख्य समस्या रहेको उनले बताए । कार्यक्रममा दुधको उत्पादन भण्डारण तथा खपतबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
