मकवानपुर । बागमती प्रदेशकाे प्रदेश सभाकाे बैठक सुरु भएकाे छ । प्रदेश सभाकाे लाईभ यहाँबाट हेर्न सकिने छ ।
मकवानपुर । धान दिवसकाे अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुखले शुभकामना दिएका छन् । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट प्रेरणा प्राप्त होस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँन थालेयता यस दिवसलाई महत्व दिइएको जनाएका छन् ।
‘यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ शर्माले सन्देशमा भनेका छन् । शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए ।
हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यावसायिकतातर्फ अगाडि बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ । प्रदेशकाे विभिन्न स्थानमा धान दिवसकाे अवसरमा सामुहिक धान राेपाई कार्यक्रम हुँदैछ ।
मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो ।
मनसुनजन्य विपद्को ११ वर्षे तथ्यांक
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी २ हजार ४ सय ६५ पहिरोका घटनामा परी १ हजार ३ सय ८७ जनाको अकालमै ज्यान गएको छ । यही अवधिमा पहिरोमा ३ सय ३० जना बेपत्ता र १ हजार १ सय ३६ घाइते भएका छन् ।
यस अवधिमा पहिरोबाट ८ हजार १ सय ८० परिवार प्रभावित हुँदा ३ हजार ३० घर पूर्ण र २ हजार ६ सय ३९ घरमा आशिंक क्षति भएको तथ्यांक छ ।
तथ्यांकअनुसार ११ वर्षको अवधिमा १ हजार ७ सय ५६ बाढीका घटनामा परी ८ सय ५७ जनाको अकालमै ज्यान गएको छ । यस अवधिमा बाढीका घटनामा परी ५ सय ४८ बेपत्ता र १ सय ९२ जना घाइते भएका छन् । बाढीबाट सो अवधिमा ६५ हजार १ सय ५४ परिवार प्रभावित हुँदा ११ हजार ७ सय ३२ घर पूर्ण र ४२ हजार ४७ घर आंशिक क्षति भएको छ ।
– ११ वर्षमा २ हजार ३ सय ६२ को मृत्यु, ८ सय ८० बेपत्ता
– ७८ हजार ८ सय ११ परिवार प्रभावित
– यो वर्ष २० लाख प्रभावित हुने अनुमान
प्राधिकरणको तथ्यांकअनुसार भारी वर्षाका कारण १ हजार ६ सय ४ वटा घटना हुँदा १ सय १८ जनाको मृत्यु, २ बेपत्ता, ३ सय १८ घाइते तथा ५ हजार ४ सय ७७ घर प्रभावित हुँदा १ हजार २ सय ७७ घर पूर्ण तथा ७ सय ७ घर आंशिक क्षति भएको देखाएको छ ।
यो अवधिमा मनसुनजन्य विभिन्न घटनामा परी १ हजार ६ सय ४६ घाइते, ७८ हजार ८ सय ११ परिवार प्रभावित, सबै गरी १६ हजार ३९ घर पूर्ण र ४५ हजार ३ सय घरमा आंशिक क्षति पुगेको देखिएको छ ।
यस वर्ष अवस्था कस्तो ?
बाढी पहिरोलगायत विपद्जन्य घटनाबाट यस वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरण प्र्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
वर्षको मनसुन गत १८ जेठबाट सुरु भई १४ असोजसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूर पश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्यभूभाग गण्डकी प्रदेशका मध्यभूभाग र प्रदेश १ को मध्यभूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । त्यस्तै, गण्डकी प्रदेश उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत औंल्याइएको छ ।
प्रदेश १ उत्तरी भूभाग, बाग्मती प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ ।
बाढी उच्चजोखिममा २३ जिल्ला
तराई र भित्री मधेसमा पर्ने २३ जिल्ला बाढी उच्च जोखिममा छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समय अव्यवस्थित संरचना निर्माण, नदी बहाव क्षेत्रमा अतिक्रमण तथा ढल निकास अभावका कारण सहरी क्षेत्रमा बाढी प्रकोप बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा अव्यवस्थित सहर (काठमाडौं, भक्तपुर, ललितपुर), हेटौंडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त मानिन्छन् ।
प्राधिकरणले कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापालाई बाढीको उच्च जोखिममा रहेका जिल्लाका रूपमा राखेको छ ।
बाढीका अलावा डुबान प्रकोप पनि बर्सेनि हुने गरेको छ । नेपाल–भारत सीमा भएर बग्ने नदीमा विशेषगरी भारत उत्तर प्रदेश र विहारमा नेपाल सीमानजिकै निर्माण गरिएका तटबन्ध तथा अग्ला राजमार्गले ती नदीको प्राकृतिक बहाव एवं निकास अवरोध पु¥याएका कारण तराईको जमिन बर्सेनि डुबानमा पर्ने गरेको छ ।
यी ठाउँ हुन्, पहिरोको जोखिम
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईका १९ बाहेकका जिल्ला भौगोलिक रूपमा हिमाली तथा पहाडी भू–भागमा अवस्थित छन् । ती जिल्लाका भिरालो भू–भाग, राजमार्ग तथा अन्य सडकखण्डका भिराला भित्ता र नदीले कटान गरी बनाएका भिराला भू–खण्ड पहिरो जान सक्ने क्षेत्रमा पर्दछन् ।
अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण तथा अवैज्ञानिक भू–उपयोग, प्राकृतिक स्रोत (रोडा, बालुवा, ढुंगा) अनियन्त्रित दोहनलगायत कारण पहाडी भू–भाग पहिरोजन्य प्रकोपका हिसाबले जोखिमयुक्त छन् । छोटो समयमा हुने भारी वर्षा तथा बेलाबेला आउने भूकम्पका कारण पुराना तथा निष्क्रिय भइसकेका पहिरो पुनः सक्रिय हुने गर्दछन्् ।
२०२६ देखि २०७५ सालसम्ममा गएका पहिरोको तथ्यांक विश्लेषण गर्दा नेपालको महाभारत शृंखलादेखि उच्च हिमाली क्षेत्रबीचको भू–खण्डमा बढी मात्रामा पहिरो गएका छन् । पहिरोको घनत्वको हिसाबले बाग्मती तथा गण्डकी प्रदेश उच्च जोखिममा छन् । लुम्बिनी तथा मधेस प्रदेश भने सापेक्षित पहिरोको कम जोखिममा पाइन्छ ।
‘मनसुन प्रतिकार्य कमान्ड’ गठन
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्दै सरकारले प्रभावकारी कार्यान्वयनका लागि ‘मनसुन प्रतिकार्य कमान्ड’ गठन गरिसकेको छ । मनसुनबाट हुने क्षति प्रभाव कम गर्नेतर्फ यो टोलीले काम गर्नेछ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा गठित समितिले हरेक सरोकारवाला पक्षसँग एकीकृत ढंगबाट मनसुन प्रतिकार्यमा सहकार्य गर्नेछ ।
कमान्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभागका प्रतिनिधि तोकिएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले २०७८ को सिकाइ आधार मानेर प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ तयार गरेको जानकारी दिए । ‘प्राधिकरणले २०७८ को सिकाइ र अनुभवबाट प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ तयार गरेको हो, हरेक जिल्लामा एकीकृत ढंगबाट तत्काल एक्सनमा जानेगरी कार्ययोजना बनाइएको छ,’ पोखरेलले राजधानीसँग भने ।
त्यस्तै, सहसचिव कोइरालाले कार्ययोजनामा आँकलन गरेअनुसार पूर्वतयारीका काम भइरहेको जानकारी दिए ।
विपद् जोखिम कम गर्न मुख्य नेतृत्वदायी भूमिका भने गृह मन्त्रालयको हुनेछ । गृहले सम्बन्धित निकायसँगको सहकार्यबाट जोखिम न्यूनीकरणका लागि काम गर्नेछ । विपद् प्रतिकार्य तथा राहत सामग्री भण्डारण व्यवस्था, मानवीय सहायता तथा राहत समग्री परिचालन गृह वा मातहतका निकायबाट हुनेछ ।
यसैगरी, जिल्लास्थित विपद् व्यवस्थापन समितिले समेत विपद् जोखिम कम गर्नेतर्फ काम गर्नेछ । जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा हुने समितिले आपतकालीन सामग्री खरिद गर्न तथा प्रभावित खोजी, उद्धार र राहत व्यवस्थापन कार्यमा परिचालित हुनेछन् । राजधानी दैनिकबाट
सकियो महिला उद्यमी सम्मेलन
Tags: No Comments
मकवानपुर । हेटौंडा आयोजित २ दिने महिला उद्यमी सम्मेलन सकिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजित प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) समापन गर्दै बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले यसले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुगेको दाबि गरे ।
प्रदेशको १३ जिल्लाका प्रतिनिधि महिला उद्यमहरूको सहभागिता रहेको सम्मेलनमा उद्यमी विजय बैद्यलगायतले व्यवसायीक सफलता तथा चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी थिए । उनीहरुलाई उपज प्रदर्शनीको लागि नि:शुल्क स्टल उपलब्ध गराउनुका साथै बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोरेको थियो ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा सम्मेलन गरिएको हो । व्यापार भन्दा उद्यमीहरूलाई आफ्नो उद्यमबारे प्रचारप्रसारको लागि सम्मेलन प्रभावकारी भएको कार्यक्रम संयोजक तारानाथ चौलागाईंले बताए ।
मकवानपुर । बर्षौ विदेशमा बसेर आफ्नो पसिना बगाउंदै सिप सिकेका युवाहरू आफ्नो सिपबाट अब स्वदेश र स्वदेशीलाई सघाउने अभियानमा छन् ।
वैदेशिक रोजाईको क्रममा खाडी मुलुकमा जीवनको उर्जाशील समयको लगानी गरेका २५ जना युवाहरूले स्वदेशमा फर्केर कृषिमा योगदान गर्न लागेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा माईग्रेन्ट कृषि मार्ट संचालनमा ल्याउंदै उनीहरूले अभियानको थालनी गर्न लागेका हुन ।
रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीद्वारा संचालित मार्टमार्फत उनीहरूले सबै प्रकारको कृषि उपजलाई सबै स्थानमा पुर्याउने योजना बनाएका छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय धान दिवासको दिन औपचारिक उद्धघाटन गर्दैछन् । हेटौडा ५ पिप्लेमा संचालनको क्रममा रहेको मार्टमा हाल १२ जनाले रोजगार पाइसकेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सहकारी अध्यक्ष सरोज पुडासैनीले युवाले चाहेमा कृषिमा सफलता संभव रहेको बताए । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने आफूहरूको योजना रहेको अध्यक्ष पुडासैनीले बताए ।
कृषि सहकारी संस्था अन्तरगत रहेर संचालनमा ल्याउन लागेको माटर्ले देशभर आफ्नो शाखा विस्तार गर्ने सन्चालक समिति सदस्य बिपिन घिमिरेले बताए । मार्टले कृषकहरुलाई बीउ, प्राविधीक जनशक्तिको लागि सहयता गर्नेछ । किसानबाट उत्पादित बस्तुहरु आफै खरिद गर्ने योजना समेत रहेको अध्यक्ष पुडासैनीले बताए ।
रिटर्नी माइग्रेन्टले युवाहरूलाई प्राथमिकता किटान गरिएको र जुनसुकै क्षेत्रमा न्युनतम २ वर्ष कामको सिलसिलामा विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरेर उनीहरुको सिप क्षमतालाई देशकै उत्पादनमा केन्द्रित गर्ने हेतुले संचालनमा ल्याउन लागेको उनले बताए ।
