मकवानपुर । धान दिवसकाे अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुखले शुभकामना दिएका छन् । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट प्रेरणा प्राप्त होस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँन थालेयता यस दिवसलाई महत्व दिइएको जनाएका छन् ।
‘यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ शर्माले सन्देशमा भनेका छन् । शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए ।
हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यावसायिकतातर्फ अगाडि बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ । प्रदेशकाे विभिन्न स्थानमा धान दिवसकाे अवसरमा सामुहिक धान राेपाई कार्यक्रम हुँदैछ ।
