मकवानपुर । हेटौंडा आयोजित २ दिने महिला उद्यमी सम्मेलन सकिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजित प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) समापन गर्दै बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले यसले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुगेको दाबि गरे ।
प्रदेशको १३ जिल्लाका प्रतिनिधि महिला उद्यमहरूको सहभागिता रहेको सम्मेलनमा उद्यमी विजय बैद्यलगायतले व्यवसायीक सफलता तथा चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी थिए । उनीहरुलाई उपज प्रदर्शनीको लागि नि:शुल्क स्टल उपलब्ध गराउनुका साथै बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोरेको थियो ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा सम्मेलन गरिएको हो । व्यापार भन्दा उद्यमीहरूलाई आफ्नो उद्यमबारे प्रचारप्रसारको लागि सम्मेलन प्रभावकारी भएको कार्यक्रम संयोजक तारानाथ चौलागाईंले बताए ।

