मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर हुप्राचौरमा हेटाैडा उपमहानगरपालिकाले निर्माण गर्न लागेकाे बासुदेव बहुउद्देश्यीय भवनकाे काम अघि नबढाउन चेतावनी दिइएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले भ्युटावर सहितको बासुदेव बहुउद्देश्यीय भवन निर्माणको काम अघि नबढाउन चेतावनी दिएको हाे ।
राप्रपा मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै बहुउद्देश्यीय भवनको काम अघि नबढाउन अनुरोध गरिएको राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानेले बताए । उनले हेटौंडा बजार क्षेत्रमा बढ्दो शहरी करणले खुला ठाउँ नभएको भन्दै खुला हुप्राचौरकाे संरक्षण गर्नु पर्ने तर मास्न नहुने बताए ।
मंगलबार नै राप्रपा मकवानपुरले हेटौंडामा गरेकाे पत्रकार सम्मेलनमा न्यौपानेले हुप्राचौर मास्दै बहुउद्देश्यीय भवन बनाउन नहुने बताए । उनले हुप्राचौरमा बन्ने लागेको बहुउद्देश्यीय भवन हेटौंडा अस्पतालको परिसरमा निर्माण स्थानान्तरण गर्न र उक्त भवन हेटौंडा अस्पताललाई हस्तान्तरण गर्न माग गरे ।
यसैगरि,राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दिप सापकोटाले हेटौंडा-४ हुप्राचौरमा स्व. श्री ५ महाराजधिराज बिरेन्द्र वीर बिक्रम शाहदेवको शालिकको मर्मत सम्भार गरी बाटिका व्यवस्थापन गर्दै सर्वसाधरणको लाग सहज हुनेगरि खुला गरिनुपर्ने बताए ।
यसैगरि हेटौंडा अस्पताललाई सम्पूर्ण विशेषज्ञ सहित ५ सय शैयाको अस्पताल निर्माण तथा संचालन गर्न आवश्यक पुर्वाधार तथा अन्य सहयोग उपलब्ध गराउन समेत राप्रपाले माग गरेकाे छ । यस्तै महिलाहरुको स्तन तथा पाठेघर र पुरुषहरुमा देखिने फोक्सो लगाएतका क्यान्सरहरुको निःशुल्क उपचार गर्नुपर्ने राप्रपाको माग छ ।
आफ्ना मागहरु सम्बोधन नभए शसक्त आन्दोलन र विरोधको कार्यक्रमहरु सार्वजनिक गरि संघर्षमा उत्रिन बाध्य हुने समेत राप्रपा मकवानपुरले जनाएको छ ।

