मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गरेको र पहिलेको पत्रकारिता इतिहासलाई स्मरण गराएको बताएका छन् ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्धारा आज हेटौंडामा आयोजित ‘डिजिटल साक्षरता’ र ‘उहिलेको पत्रकारिता’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए ।
उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख पनि हो ।
इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशिल समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताए ।
‘सत्ता पक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव संगालेका जेष्ठ पत्रकार आफैमा जिउँदा इतिहास हुन । जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण रहेको बताए ।
पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ वर्ष, नारायण शर्मा ९१ वर्ष, लालध्वज देउसा राई ८९ वर्ष , कृष्णा ताम्राकार ८२ वर्ष र रामकृष्ण रेग्मी ७५ वर्षको रहेको रजिष्ट्रार सोपकोटाले बताए । पत्रकारितामा उहाँहरुका भोगाई, उहाँहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षक कथा पुस्तकमा समेटिएको उनले बताए ।
प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढन पाइनेछ । ‘उहिलेको पत्रकारिता नामक पुस्तकमा समेटिएका जेष्ठ पत्रकारका ज्ञान,सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुने जनाइएको छ ।
सूचना प्रविधिको आधारभुत ज्ञान हासिल गर्न चाहनेका लागि यस पुस्तक महत्वपूर्ण रहने जनाइएको छ । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ ।
उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् ।
भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स (आइओटी), आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानून, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ । दुबै पुस्तक आजको पुस्ताको लागि मार्गदर्शक बन्न सक्ने रजिस्ट्रार सापकोटाले बताए ।
मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिका ९ कि सुन्तली चेपाङ्ग भोकोपेट ८ घण्टाको बाटो धाएर धादिङ जिल्लाको सिमाना आईपुगिन । एउटै खहरे दर्जनौ पटक तरेर, झांगाबाट ढुङ्गा खसेर लाग्ने त्रासै त्रासमा दौडिएकी सुन्तलीको मुहार भने प्रसन्न थियो कारण थियो ५ वटा बाख्रा ।
बाह्र महिना अन्नले पुर्याउन धौ धौ हुने उनले उन्नत प्रजातिको ५ वटा बाख्रा अनुदान पाइन् । जंगलमा बाख्रा छाडेरै भएपनि उत्पादन लिन सकिनेमा आशावादी छिन उनी । सुन्तली जस्तै खुसी देखिइन इन्द्रकुमारी नगरकोटी ।
काखे बच्चा च्यापेर बाख्रा लिन आएकी उनीलाई भीर र पहरामा कसरी बचेर फर्कने भन्ने चिन्ता थियो । “एउटा बच्चा च्यापेर आए, अब ५ बाख्रा पनि च्यापेर फर्कनु छ, घरसम्म पुर्याउन चिन्ता भए पनि बाख्रा पाएकोमा औधी खुसी छु” उनले भनिन् “बाख्राबाट अब हाम्रो जिविका चल्न सहयोग हुने छ ।”
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङको तारलिङका विपन्न परिवारलाई उन्नत जातको बाख्राको पाठा वितरण गरिएको थियो ।
सयुक्त राष्ट संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला सशक्तीकरण तथा गरिबि निवारण समूह नेपालले यहाँको २० परिवारलाई ५/५ वटाको दरले बाख्रा वितरण गरेको हो । बाख्राबाट आर्थिक उपार्जनमा स्थानीय विपन्न महिलालाई सहयोग पुग्ने समूह अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् ।

विकट बस्तिमा कष्टकर दैनिकी गुजार्दै आएका स्थानीय चेपाङ, नेवारी तथा तमाङ समूदायमा बाख्रा पालनले जीविकोपार्जन सहज हुने सेवाग्राही सुन्तली चेपाङले बताइन् । “यि बाख्राबाट उत्पादन हुने पाठापाठीमार्फत आर्थिक स्तर बढाउन सकिन्छ भन्ने लागेको छ” उनले भनिन् “हाम्रो लागि एउटा बाख्रा किन्नै धौ धौ छ,संस्थाले ५ वटा दियो,अब आर्थिक रूपमा फड्को मार्न सकिन्छ कि ।”
बाख्रा वितरण कार्यक्रममा कृषि प्राविधिक भिमप्रसाद दाहालले बाख्राको स्वास्थ्यमा
हेरचाह गर्दा ध्यान दिनुपर्ने जानकारी बारे स्पष्ट पारेका थिए । “बाख्रा बिरामी भयो भने तपाईंको गाउँमै रहेका स्थानीय प्राविधिकलाई पनि भेट्न सक्नुहुने छ” दाहालले भने “यि बाख्राको स्याहार गर्दै अरू बाख्रा बढाउनु पर्छ,अनि व्यवसायीक बनिन्छ ।”
प्राकृतिक रूपमा उत्पादन हुने फलफुल तथा पाखो बारिमा उत्पादन हुने अन्नलाई निर्वाहमुखि गुजारा चलाउदै आएका यहाँका बिपन्न स्थानीयलाई केहि समय पालेपछि बाख्राबाट राम्रो आयआर्जन हुने गाउंपालिका अध्यक्ष राजकुमार मल्लाले बताए । समूहले बितरण गरेको बाख्रालाई खोर गाउँपालिकाले निर्माण गरिदिने उनले बताए ।
बाख्रा वितरण गरिएकाहरूलाई स्थानीय गाउँपालिकाले खोर बनाउन सहयोग गर्नेछ भने पहिलो पटक उत्पादन भएको पाठाहरू उनीहरूले आफ्नो छिमेकीलाई सहयोग गर्नेछन्।
गरिबी उन्मुलन गर्दै महिलाको अवस्थामा सुधार ल्याउन आफूहरूले काम गर्दै आएको अध्यक्ष न्यौपानेले बताइन् । आर्थिक सशक्तीकरणको समूहले विपन्न परिवारलाई फलफूल खेती, कुखुरा पालन तथा बाख्रा पालनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक सचित रिजालले बताए । बाख्रा वितरण कार्यक्रममा समूहका पशु प्राविधिक पवित्रा संजेल, लेखाशाखाका सुजन पौडेलसमेतको उपस्थिति रहेको थियो ।

मकवानपुर । कपडाको व्यवसायमा मंहङगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिम मार्फत पोख्त बन्न लागिपरेका छन् ।
उपमहनगरको सहकार्यमा गरिवी निवारणका लागि लधु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी आधारभूत तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका हुन् ।
उपमहानगरपालिकाले हेटौंडाको १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिममा ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् ।
करिब ३ लाख रुपियाँको लगानीमा उपमहानगरले ३ वटा वडाका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिदै आएको छ । महिलालाई आत्मनिर्भर बनाउन यस्तो तालिम प्रभावकारी हुने हेटौंडा उपमहानगरपाकिला आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले बताइन् । अहिले तालिमको क्रममै सहभागिले निकै महंगो मुल्यका सामानहरु उत्पादन गर्ने थालेको उनले बताइन् ।
सहभागिलाई १२ वटा तान मार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि सिन्धुलीका बेलिमाया जिनेल मगर उनको सहयोगिले प्रशिक्षण दिइरहेका छन् ।
तालिममा सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले तालिमपछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न आग्रह गरीन् । उनले सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्न प्रत्सान गर्दै तालिम लिएका महिलाले बर्ष भरीमा धेरै उत्पादन र बिक्री गर्नेलाई सम्मान गरीने बताइन् ।
उनले भनिन् ‘व्यवसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए उपमहानगरपालिका तयार छ, तर काम गरौं आर्थिक समस्या पर्दैन ।’ नगरप्रमुख लामाले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्ने बताइन् ।
मकवानपुर । नेपाली समाजमा हरेक वर्ष साउन १५ गतेलाई महत्वकाे रुपमा लिइन्छ । यस दिन खिर खाने पर्वकै रुपमा रमाइलाे गरी मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । नेपाली परम्परा अनुसार वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलाे छ ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेकाे छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेकाे जानकारहरु बताउँछन् ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् बताउँछन् । वर्षामासकाे समयमा खेतीपातीमा व्यस्त रहनुपर्ने भएको तथा उक्त समयमा शरिरमा चिसाे लाग्ने गर्छ । साउन १५ पछी विस्तारै वर्षा समेत कम हुँदै जाने खेतीपातीकाे कामबाट समेत फुर्सद मिल्ने भएकाेले शरीरकाे चिसाे हटाउन समेत साउन १५ मा खिर खाने चलन रहेकाे छ ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पाेषिलाे खिर खाने गरिन्छ । नेपालमा मात्रै हाेइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
यस्तै साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । साउन महिनामा माछा मासु भाेजन गर्नु नहुने मान्यता रहेकाे छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हाे ।
मकवानपुर । हेटौंडामा सरसफाइ कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल बिकास संस्था नगर समन्वय समितीको समन्वयमा सरसफाइ अभियानको दोश्रो हप्ता हेटौंडा १ र ११ मा रहेको बुद्धपार्क देखि भैरबडाडासम्म सरसफाइ कार्यक्रम गरिएको हो ।
टुगेदर वी क्यान कार्यक्रम अन्तर्गत बृहत बृक्षरोपण एवं सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, विभिन्न वडा अध्यक्षहरू, ट्राफिक प्रहरी, सामुदायिक वन, सामुदायिक सेवा समितिलगायत सङ्घसंस्थाहरूको उपस्थिति रहेको थियो ।

अभियान अन्तर्गत आज सबै वडाहरूमा वडा कार्यालय, टोल विकास सस्था वडा समन्वय समिति, टोल विकास सस्थाहरूको अगुवाईमा वृहत् सरसफाइ कार्यक्रम गरिएको छ।
अभियान निरन्तर प्रत्येक हप्ता सन्चालन गरिने भएकोले र अभियानमा सहभागिता हुन अध्यक्ष अधिकारीले अनुरोध गरे ।
