मकवानपुर । नेपाली समाजमा हरेक वर्ष साउन १५ गतेलाई महत्वकाे रुपमा लिइन्छ । यस दिन खिर खाने पर्वकै रुपमा रमाइलाे गरी मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । नेपाली परम्परा अनुसार वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलाे छ ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेकाे छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेकाे जानकारहरु बताउँछन् ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् बताउँछन् । वर्षामासकाे समयमा खेतीपातीमा व्यस्त रहनुपर्ने भएको तथा उक्त समयमा शरिरमा चिसाे लाग्ने गर्छ । साउन १५ पछी विस्तारै वर्षा समेत कम हुँदै जाने खेतीपातीकाे कामबाट समेत फुर्सद मिल्ने भएकाेले शरीरकाे चिसाे हटाउन समेत साउन १५ मा खिर खाने चलन रहेकाे छ ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पाेषिलाे खिर खाने गरिन्छ । नेपालमा मात्रै हाेइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
यस्तै साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । साउन महिनामा माछा मासु भाेजन गर्नु नहुने मान्यता रहेकाे छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हाे ।

