मकवानपुर । प्रदेश र संघीय चुनावको तयारीको लागि वर्तमान गठबन्धन सरकार विधि प्रक्रिया बिना कर्मचारी सरूवा गरेको बताइएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले वर्तमान सरकारले हतार हतार यस्तो कार्य गरेको बताए ।”चुनावको मिति घोषणा गर्नु रहेछ अनि यति धेरै हतारिएर कर्मचारी चलाईएको रहेछ” कोईरालाले भने ।
सरकारले बिधि र प्रक्रिया नपुर्याईकन उच्चस्तरका कर्मचारी सरूवा गरेको प्रति पेशागत संगठनको ध्यानाकर्षण भएको उनले बताए ।
स्थानीय तहहरूमा दैनिक ज्यालादारी र करारको कर्मचारी हटाउने र सोहि प्रकृतिको कर्मचारी भर्ति गर्न सुरू गरिएको प्रति पनि संगठनले सच्चिनको लागि अनुरोध गरेको उनले बताए । “एउटा विधिमा भर्ना भएका अस्थायी, ज्यालादारी करारका कर्मचारीलाई हटाउने र सोहि पदमा आफ्नालाई भर्ति गर्ने क्रम चलेको प्रति संगठनले सबै तिर ध्यानाकर्षण गराएपछि मन्त्रालयहरूले संगठनको अनुरोधलाई उदृढ गर्दै कर्मचारी ननिकाल्न सर्कुलर जारी भएको उनले बताए ।
संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताए । संगठनले देशको ६८ जिल्लामा सहकारी संचालन गर्दै आएको छ । जसमा ३ अरब पुँजी रहेको छ । पुँजीलाई सही र प्रभावकारी ढङ्गले सन्चालन गर्दै आएको कोइरालाले बताए ।
सहकारी मार्फत रक्तदान सेवा, वृक्षरोपण, स्थायी पार्क निर्माण जस्ता काम गरिरहेको कोइरालाले बताए । यसैगरी स्वास्थ शिविर संचालन, शित लहरमा न्यानो कपडा वितरण, बाढि पहिरो पीडितलाई सहयोग प्रदान जस्ता जनताको सेवामा कर्मचारी संगठन लागिपरेको उनले बताए ।
यसैबीच नेपाल निजामती संगठन बागमती प्रदेश कार्य समितिको भोली हुने प्रथम प्रदेश अधिवेशनको सबै तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
भोलि हुने अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा ५ सयभन्दा बढि कर्मचारी सहभागी हुनेछन । अधिवेशनमा १३ जिल्लाका ९८ जना प्रतिनिधिले सहभागीता जनाउने प्रदेश इन्चार्ज अर्यालले बताए ।
संगठनले भोलि बिहान् प्रभात फेरि आयोजना गर्ने र त्यसपछि अधिवेशनको उद्घाटन गर्ने संगठनका प्रदेश इन्चार्ज बिष्णुप्रसाद अर्यालले बताए । पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनको उद्घाटन गरेछन् । नेपालको १ लाख २५ हजार कर्मचारीहरू विभिन्न पेशागत संगठनमा आवद्ध छन् ।
मकवानपुर । नेपालमा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार ४ सय ९१ जनाको नमुना परीक्षण गर्दा ९ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साेही अवधिमा ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १ जनाको ज्यान गएको छ । अहिले नेपालमा ४ हजार ७ सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
मकवानपुर । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेश निर्वाचनको मिति घोषणा गरेको हो ।
बुधबार हिजो सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मङ्सिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो ।
यसअघि असार २२ गते निर्वाचन आयोगले आगामी मङ्सिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने गरि मिति तोक्न सरकारलाई सिफारिस गरेको थियोे ।
यसैबीच, सरकारले मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन गर्ने घोषणा गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै सरकारको निर्णयलाई स्वागत गरेका हुन् ।
निर्वाचनको तयारी सुरुः आयोग
निर्वाचन आयोगले सरकारले संघ र प्रदेशको निर्वाचन घोषणा गरे संगै निर्वाचनको तयारी सुरु गरेको छ ।
आयोगले अहिले जारी रहेको मतदाता नामावली सङ्कलन भोलिदेखि बन्द गर्ने भएको छ । साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ ।
आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि आयोग निर्वाचन गराउन तयारी अवस्थामा रहेको उस्ले जानकारी दिएको छ । आयोग अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताए ।
ढुंगाले नरोइकन मार खाइ रहन्छ,
निरन्तर खाइरहन्छ मार नडगमगाइकन
अनि उ मुर्ती बन्दछ सधैं भरिलाई ।
तिमी त मुर्ती होइन मानिस नै बन्नु छ
किनकी
मुर्तीलाइ हामीले मात्र चिन्छौं
उसले कान पनि सुन्दैन र देख्न पनि सक्दैन ।
त्यसैले तिमी अब मुर्तीले भन्दा अझ बढि मार खाउ
अनि सोचेकै जस्तो मानिस बनेर
बल्ल नयाँ इतिहाँस रच्न आउ
यहाँ तिम्रो कर्मथलोमा ।
बाँदरहरुले फल टिप्नु पहिला रुखको हाँगानै भाँचेका छन्
कुकुरहरुले ठुलो स्वरले भुकेर के गर्नु बाटोभरि लाज नमानी हगेका छन् ।
हाँगा भाच्नेले भाचुन् बाटो फोहोर गर्नेले गरुन्
तिमी बिरुवा रोप्न चाहने मात्र होइन जान्ने भएर आउ,
नाक थुनेर बाटो पार हुने होइन घिन नमानि आचि सोहोर्ने बनेर आउ,
बिरुवा रोप्दा राप्दै तिमि थाक्यौ भने
बाँदरहरुले अझ अरु हाँगा भाँच्नेछन्
आचि सोर्दासोर्दै वाक्क वाक्क गर्न थाल्यौ भने
कुकुरहरुले झनै कनि कनि हग्नेछन् ।
तिमी निरन्तर काम गरिरहु कुकुर बाँदर दिउँसै दुला पस्नेछन्
तर तिमी पनि मात्तियौ भने
तिनले तिमीलाई पनि आफ्नै ग्याङ्गमा गाभ्नेछन् ।
आफ्नै थकाइ र निरासा नै तिम्रा चुनौती भएकाले
यस्तो नहुने गतिलो मार खाएर आउ
कहिले काहिं मात्यौँ मात्यौँ लाग्ने मन बोकेका छौ भने
पहिला तिम्रो त्यो मनको मलामी तिमी आफैं गएर आउ ।
यसो गर्न सके,
तिम्रा आँखाले सपना मात्र होइन सम्भावनाहरु पनि देख्नेछ
तिम्रा कानले वर्तमान मात्र होइन भविष्य पनि सुन्नेछ
अनि तिम्रो त्यो चोख्याइएको मनले
परिस्कृत धारणा निर्माण गर्नेछ ।
मकवानपुर । मधेस प्रदेशमा बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको पाइएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेसकाे उक्त कार्यक्रममा छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गरेकाे हाे ।
साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई, सह लेखापाल, ओम सत्य साई प्रालि वीरगन्ज सहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य ४ जना गरी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रदेश सचिव भुसालको हकमा १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरिएको छ । भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदाबी लिइएको छ ।
यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख सीडीई भगवान झाले तत्कालीन मूल्यांकन समितिको सदस्य समेत रहेर फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेको अख्तियारको भनाइ छ । उनीमाथि पनि समान १० करोड ३३ लाख ७५८ रुपैया बिगो मागदाबी गरिएको छ भने सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो,भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिवाना माग दावी भएको छ।
यस्तै ओम सत्य साईकी रेनु अग्रवालमाथि पनि सम्झौता अनुसारको सर्त पालना नगरी प्रदेश सरकारलाई हानी नोक्सानी पार्ने काममा भूमिका खेलेको पाइएकाले १० करोड ३३ लाख ७५८ रुपैयाँ नै मागदाबी भएको छ।
यस्तै साइकल खरिदबारेकै अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरु उपसचिव दिलिप कुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सह लेखापाल राजाराम मण्डलमाथि मापदण्ड नपुग्दा समेत बदनीयतपूर्ण भूमिका खेलेकाले दोषी किटान गरी मुद्दा दायर गरिएकाे अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ ।
