मकवानपुर । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेश निर्वाचनको मिति घोषणा गरेको हो ।
बुधबार हिजो सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मङ्सिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो ।
यसअघि असार २२ गते निर्वाचन आयोगले आगामी मङ्सिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने गरि मिति तोक्न सरकारलाई सिफारिस गरेको थियोे ।
यसैबीच, सरकारले मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन गर्ने घोषणा गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै सरकारको निर्णयलाई स्वागत गरेका हुन् ।
निर्वाचनको तयारी सुरुः आयोग
निर्वाचन आयोगले सरकारले संघ र प्रदेशको निर्वाचन घोषणा गरे संगै निर्वाचनको तयारी सुरु गरेको छ ।
आयोगले अहिले जारी रहेको मतदाता नामावली सङ्कलन भोलिदेखि बन्द गर्ने भएको छ । साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ ।
आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि आयोग निर्वाचन गराउन तयारी अवस्थामा रहेको उस्ले जानकारी दिएको छ । आयोग अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताए ।
In: मुख्य खबर, राष्ट्रिय
Tags: No Comments

