मकवानपुर । नवौं राष्ट्रिय खेलकुद, २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिइने भएको छ । बागमती प्रदेश सकरले राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको हाे ।
नवौं राष्ट्रिय खेलकुद २०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलाडीलाई प्राेत्साहन भत्ता उपलब्ध गराइने जानकारी दिए ।भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए ।
खेलकुद प्रतियाेगितामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी खेलका खेलाडीले स्वर्ण पदक प्राप्त गरे मासिक भत्ता पाउने छन् । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्मका भत्ता दिने जनाएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । ३६ खेलमा प्रतिस्पर्धा हुने खेलकुदमा बागमती प्रदेशले सबै खेलमा सहभागिता जनाउनेछ । प्रतियाेगितामा प्रदेशको तर्फबाट ७ सय ९ जना खेलाडीहरु सहभागी हुने बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।
बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेत पौडेलले आगामी मंसिर–४ गते हुने चुनाबमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।
युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्दै उनले आफू इच्छुक नभएको बताएका हुन् । नाती पुस्ताले समेत मुलुकको नेतृत्व हाक्ने भइसकेकाले अब आफु चुनाब नलड्ने उनले बताएका हुन् ।
दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएको बताएका छन् । “अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेको उनले टिप्पणी गरेका छन् ।
“यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ” पौडेलले फेसबुकमा लेखेका छन् “सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका संभावित उमेदवारहरुका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ, त्यही क्रममा मेरो नाम जोडेर पनि केहि चर्चा हुने गरेको छ ।”

उनले सञ्चार माध्यमले भनेजस्तो आफू इच्छुक नभएको बताएका छन् । राजनीति लहड, रहर र दवाव मात्रैले राजनीति नचल्ने उनले बताए । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमा उमेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले बताएको पौडेलले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा उल्लेख गरे ।
समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने उनभे बताए । उनले स्टाटसमा लेखेका छन् “त्यसैले आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।”
उनले लेखेका छन् “यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ, दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् ।”
उनले आफ्नो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरुलाई विजयी गराउनमा रहने उल्लेख गरेका छन् ।
मकवानपुर । मकवानपुरले जिल्लाको भिमफेदी गाउँपालिकाको फरक दुई स्थानबाट प्रहरीले तीन क्विन्टल भन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा २ भैसेबाट करिब २ सय ५६ केजी २८ ग्राम गाजा बरामद गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय भिमफेदीबाटै खटिएको प्रहरीले ना.८ ख २७१८ नम्बरको आईचर ट्रकबाट करिब ७४ केजी लागूऔषध गाँजा बरामद गरेको छ । उक्त लागुऔषध बरामद गरिए पनि ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए छ ।
यसैगरी प्रहरीले भिमफेदीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले आज उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित ट्रक चालक लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर । कार्यकक्षमै पिटाइका खाएका वडा अध्यक्ष आफैंले दिएको किटानी जाहेरी हाललाई स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको बताएका छन् ।
गलत कार्यमा लाग्नेलाई सवक दिएर भन्दा पनि नरम बाटोबाट सुधार्न सकिन्छ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले जाहेरी स्थगित गर्न प्रहरीलाई अनुराेध गरेका हुन् । आफूलाई कार्यकक्षमै कुटपिट गर्ने आफ्नै पार्टीको जिल्ला सदस्य सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सिग्देलले कार्यालयम नै आज पत्रकार सम्मेलन गर्दै जाहेरी दिएको २४ घण्टा मा नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न अनुरोध गरिसकेको बताए । “कारबाही नै सबै थोक हैन नी, ढुङ्गाले हान्नेलाई फूलले पनि हान्न सकिन्छ” उनले भने “कसैको दबाबमा आएर मैले जाहेरी स्थगित गर्न प्रहरीलाई भनेको हैन ।” उनले आफूमाथि गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको बताए ।
स्थानीय भुटनदेवि माविको व्यवसायिक सटर भाडामा दिने टेण्डरबारेको विवाद हुँदा आफूलाई लामाले पिटेको आजको पत्रकार सम्मेलनमा पनि उनले बताए । एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।
उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । घटनापछि सम्बन्धित भुटनदेवी माविलाई सटरको टेण्डर सम्बन्धी सबैकाम तत्काललाई स्थगित गर्न समेत पत्र काटेको बताए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी सम्बन्धी कानून अध्यादेशबाटै भए पनि ल्याउने बताएका छन् । कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी कानून चाँडै ल्याउने खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धी कार्यक्रममा उनले बताएका हुन् ।
बुधबार बागमती प्रदेशका नीति निर्मातासंग अन्तरसंवादमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले चाँडै रासायनिक मल उद्योग खोल्ने बताए । ‘कृषि औजार कारखाना हेटौंडामा खोल्ने तयारी भईरहेको छ,’ उनले भने, ‘प्रदेशलाई प्याज र लसुनमा आत्मनिर्भर बनाउँने योजना छ ।’ प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो १ रुपैंया अनुदान दिने र आवश्यक परे बढाउँदै जाने उनले बताए ।
प्रदेश विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति उत्पादन गर्ने समेत बताए । अघिल्लो एमाले सरकारको पालामा कृषि क्षेत्रमा चरम भ्रष्ट्राचार भएको भन्दै उनले तिव्र असन्तुष्टी जनाए । ‘अघिल्लो सरकारको पालामा ३० लाख रुपैंया बजेट विनियोजन गर्दा रहेछन्,’ उनले भने, ‘१० लाख मन्त्रीको टेवलमा, १० लाख व्यवस्थापन (विचौलिया)लाई र मात्र १० लाख किसानलाई दिने गरिएको रहेछ ।’ आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले कृषि तथा पशुपन्क्षी क्षेत्रको विकासका लागि व्यवहारिक कानून तर्जुमा गर्न आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रम फियान नेपालको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँगको समन्वयमा भएको थियो । फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उदेश्यसहित स्वागत गरेको कार्यक्रममा फियानको श्रव्यदृष्य (डकुमेन्ट्री)पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेशका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईलाई फियान नेपालले हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभुता सम्बन्धी अवधारणागत जानकारी, अधिवक्ता तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ र कार्यान्वयनमा प्रदेश सरकारको भुमिका र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कडेलले बागमती प्रदेशमा खाद्य सुरक्षाको अवस्था, प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले कृषि र पशुपन्छीको क्षेत्रमा बजेट बढाउँनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र संचालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै, प्रत्येक घर परिवारले अनिवार्य तरकारीको विरुवा रोप्ने वा खेती गर्ने अभियान संचालन गर्नुपर्ने भन्दै खाद्य अधिकार सुरक्षित गर्न ‘खाना नफालौ’अभियान पनि संचालन गर्नुपर्ने बताएका थिए ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालकी प्रदेश संयोजक लक्ष्मी गुरुङले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादीकी मनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा, जिल्ला खाद्य अधिकार संजाल मकवानपुरकी सदस्य उर्मिला पुलामी मगरले मन्तव्य व्यक्त गरेका थिए ।
