मकवानपुर । नवौं राष्ट्रिय खेलकुद, २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिइने भएको छ । बागमती प्रदेश सकरले राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको हाे ।
नवौं राष्ट्रिय खेलकुद २०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलाडीलाई प्राेत्साहन भत्ता उपलब्ध गराइने जानकारी दिए ।भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए ।
खेलकुद प्रतियाेगितामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी खेलका खेलाडीले स्वर्ण पदक प्राप्त गरे मासिक भत्ता पाउने छन् । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्मका भत्ता दिने जनाएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । ३६ खेलमा प्रतिस्पर्धा हुने खेलकुदमा बागमती प्रदेशले सबै खेलमा सहभागिता जनाउनेछ । प्रतियाेगितामा प्रदेशको तर्फबाट ७ सय ९ जना खेलाडीहरु सहभागी हुने बताइएकाे छ ।

