मकवानपुर । नेपालको मकवानपुर जिल्लामा मात्रै बसोबास रहेको बनकरीया समुदायको अग्रेणी महिला सन्तोषी बनकरीयालाई थाहा नारी रत्नबाट सम्मान गरिएको छ । मकवानपुरको रेडियो थाहा सञ्चारले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयाेजना गरेकाे तीज विशेष कार्यक्रमा बनकरीयालाई सम्मान गरिएकाे हो ।
तीज विशेष कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ की सन्तोषीलाई थाहा नारी रत्न सम्मानद्वारा सम्मान गरिएको हो । लोपोन्मुख समुदाय वनकरिया मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका छन् । आफ्नो समुदायबाट संघर्ष गर्दै जेटिए अध्ययन गरी वनकरिया समुदायको उत्थानमा सक्रिय रहेकी सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले हाल वनकरिया समुदायका बालबालिकालाई निःशुल्क अध्यापन गराउँदै आएकी छिन् ।
सम्मान कार्यक्रममा बोल्दै सन्तोषी वनकरियाले आफ्नो समुदायबाट निकै संघर्ष गरेर अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरिन् । वनकरिया समुदायमा तीज मनाउने परम्परा नभएको भन्दै उनले अझै पनि वनकरिया समुदाय निकै पछाडी रहेको बताइन । कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख किरण बज्रचार्यले तीजमा महिलाहरुले आफुलाई परेको समस्या दिदी बहिनीसँग पोख्ने र त्यसको समाधान खोज्ने अवसर पनि भएको बताए ।

