मकवानपुर । बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।
बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेत पौडेलले आगामी मंसिर–४ गते हुने चुनाबमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।
युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्दै उनले आफू इच्छुक नभएको बताएका हुन् । नाती पुस्ताले समेत मुलुकको नेतृत्व हाक्ने भइसकेकाले अब आफु चुनाब नलड्ने उनले बताएका हुन् ।
दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएको बताएका छन् । “अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेको उनले टिप्पणी गरेका छन् ।
“यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ” पौडेलले फेसबुकमा लेखेका छन् “सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका संभावित उमेदवारहरुका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ, त्यही क्रममा मेरो नाम जोडेर पनि केहि चर्चा हुने गरेको छ ।”

उनले सञ्चार माध्यमले भनेजस्तो आफू इच्छुक नभएको बताएका छन् । राजनीति लहड, रहर र दवाव मात्रैले राजनीति नचल्ने उनले बताए । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमा उमेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले बताएको पौडेलले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा उल्लेख गरे ।
समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने उनभे बताए । उनले स्टाटसमा लेखेका छन् “त्यसैले आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।”
उनले लेखेका छन् “यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ, दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् ।”
उनले आफ्नो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरुलाई विजयी गराउनमा रहने उल्लेख गरेका छन् ।

