मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध, एउटा कार तथा चालक समेत गरी ३ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र मानिस पक्राउ गरेको जनाएको हो। विहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरीले कार भित्र १ सय ६० किलो लागुऔषध गाँजा र लागुऔषध डाईजेपाम ट्याब्लेट १ हजार ८ सय ३१ पिस र ७७ बोलत वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको हो।
विहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउदै गरेको बा २० च ६८ नम्बरको होण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा कार भित्र पोका पारेको अवस्थामा १ सय ६० किलो लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए । प्रहरीले गाँजा सहित कार चालक चितवन भरतपुर महानगरपालिका – २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको १ लाख ३८ अठतीस हजार रुपैया समेत बरामद गरेको जनाएको छ।
त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागुऔषध नाईट्राभेट,वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा सिचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्रोभेट – ३ सय १६ ट्याब्लेट र वनरेक्स १०० एमएल को १४ बोत्तल फेला परेको हो।
एसपी गौतमका अनुसार खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र मकवानपुर भिमफेदी गाउँपालिका – ५ घर भई हाल हेटौडा ५ सिचाईटोल डेरा गरी बस्ने ३० बर्षीय प्रमोद कार्कीको संलग्ना रहेको जानकारीपछि खोजी गर्दा रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्राभेट- १ हजार ५ सय ४५ ट्याब्लेट र वनरेक्स १०० एमएल ६३ बोत्तल फेला पारिएको बताए।
पक्राउ परेका गुरुङ खेम्का श्रेष्ठ र कार्की माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए । मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई विहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
मकवानपुर । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले आगामी चुनाव आफ्नो जीवनकालको अन्तिम हुने भन्दै समर्थन गरिदिन आग्रह गरेका छन् ।
चुनावी तयारीको लागि गृह जिल्ला मकवानपुर आएका थापाले आफ्नो जीवनमा धेरै राम्रा काम गरेको दाबि गर्दै अब एक मात्रै अवसर दिन शुभेच्छुकहरूसंग आग्रह गरे । “जीवनमा धेरै पटक चुनाव लडे, काम गर्ने अवसर पनि पाएं, गरें पनि, अब मात्रै एक चान्स दिनोस” उनले कार्यकर्तासंगको भेटमा भने । आफ्नो जीवनमा आफू यसपछि चुनावी माहोलमा नजाने बताउंदै थापाले भने “यो मेरो जीवनको अन्तिम चुनाव हो ।”
आफ्नो गृह जिल्लामा सिम्प्याथी मत अपेक्षा गरेका थापाले अन्तिम निर्वाचन जित्ने ठुलै अभिलाषा रहेको बताए । मकवानपुरमा थापाले पार्टीका नेता कार्यकर्ता तथा स्वतन्त्र युवाहरुसंग भेटघाट गर्दै चुनावी अभियानलाई तीब्रता दिएका छन् ।
भेटघाटमा उनले हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै आएका छन् । हेटौंडामा भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अन्तिम एकपटक चुनाव जितेर जिल्लाको लागि केहि गर्न मन भएकोले फेरी पनि जनताको आशिर्वाद चाहेको बताए ।
राप्रपा नेपालले थापालाई प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
मकवानपुर । राप्रपा मकवानपुरले मकवानपुरगढी गाउँपालिकालाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले आन्दोलनको चेतावनी सहित मकवानपुर गढि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानलाई ज्ञापन पत्र बुझाएको हो । मकवानपुर गढि गाउँपालीकामा हाल भैरहेका गतिविधिहरुमा भ्रष्टाचारको गन्ध आउन थालेको , राजस्व चुहावट भैरहेको , राजस्व बुझाउन समेत सेवाग्राहिलाई झन्झट र सास्ति रहेको पार्टीको ठहर गरेको छ ।
राप्रपाले गाउँपालिकामा आबश्यक ईन्जिनियर, वकिलहरुलगायतका कर्मचारी अभाव हुदा राजस्वमा घाटाको साथै सेवाग्राहिले दु:ख पाएकोमा समेत ध्यानाकर्षण गराईएको बताईएको छ ।
राप्रपाले कृषि फार्महरुमा राजस्व छुट हुनु पर्ने, पालिकामा कक्षा १२ सम्म नि:शुल्क शिक्षा हुन पर्ने, खनिज र खानि जन्य पदार्थमा २५% गढि गाउँ पालिकाले जनताको विकासमा रोयल्टी लिनु पर्ने, जोखिम व्यवस्थापनको समिति राप्रपा समेतको सहभागिता हुनुपर्ने मागहरु सहित ज्ञापनपत्र बुझाईएको राप्रपा मकवानपुर गढि गाउँपालिका अध्यक्ष जयराम तिमल्सिनाले बताए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह-कोषाध्यक्ष सन्दिप कुमार सापकोटा , बिधार्थि संगठन अध्यक्ष प्रकाश चौलागाईं , युवक संगठन अध्यक्ष नवराज न्यौपानेलगायतका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफू निर्वाचित भएर आएपछि सय दिनमा गरिएको कार्य प्रगतिको समिक्षा सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती,उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर श्रेष्ठले सय दिनको समिक्षा पत्रकार सम्मेलन गरेर सार्वजनिक सुनाएका हुन् । गाउँपालिकाले यो बिचमा वडा कार्यालयमा अघिल्लो जनप्रतिनिधिले निर्माण गरेको स्वास्थ्य इकाइ भवन भत्काउनेदेखि बेरुजुलाई नियमित गरी सम्परीक्षणसम्मको कार्य गरेको छ ।
अघिल्लो जनप्रतिनिधिको पालमा ठेकेदारको लापारबाहीले कमसल बनेको मनहरी गाउँपालिका १ मकरीको स्वास्थ्य इकाई भवनको ढलान भत्काएर पुननिर्माण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष कालाखेती र उपाध्यक्ष पुलामीको अनुगमनपछि पुननिर्माणका लागि निर्देशन दिइएको बताइएको छ । यस्तै मनहरी अस्पतालको अस्थायी भवन निर्माण सम्पन्न भइ सोही भवनबाट सेवा प्रवाहको व्यवस्था हुँदै रहेको १ भदौबाट ओपिडि सेवा समेत विस्तार गरिएको छ ।

यसैगरी हाँडीखोला स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निशुल्क भिडयो एक्सरे सेवा सञ्चालनमा ल्याइएको कालाखेतीले बताए । स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धीपूर्ण काम भएको उनले बताए । कालाखेतीका अनुसार गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौडाबीच सम्झौता भइ गाउँपालिकाको वडा ७ मा दैनिक आँखा सम्बन्धी सेवाको निरन्तरताका साथै मोतियाबिन्दू भएका गाउँपालिका भित्रका बिरामीहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
गाउँ कार्यपालिकामा यस बिचमा विभिन्न बैठकबाट ७० वटा निर्णयहरु भएको अध्यक्ष कालाखेतीले बताए । गाउँपालिकाको यो टिमले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई जोड दिँदै साविकमा रहेको गाउँपालिकाको नारालाई परिवर्तन गरि शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार नारा तय गरि सोही अनुसार २०७९।०८० को नीति तथा कार्यक्रम गाउँसभाको अधिवेशनमा प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको उपाध्यक्ष पुलामीले बताइन् ।
कार्यालयको कामलाई व्यवस्थित, वैधानिक एवं पारदर्शी बनाउन गाउँपालिकाका ८ वटा कार्यविधि र निर्देशिका बनाई लागू गरिएको, ३ वटा संशोधन गरि कार्यान्वयनमा ल्याइएको छ ।
गाउँपालिका २०७७९०७८ सम्मको बेरुजू रकम ३५ करोड ७९ लाख १६ हजार मध्ये ५ करोड ३६ लाख २४ हजार सम्परीक्षण गराई हालसम्मको बेरुजू ३० करोड ४२ लाख ९२ हजार बाँकी रहेकोमा पालिकाले जनाएको छ । यसमध्ये पनि २०७९ असार १० गते बसेको गाउँ सभाको एघारौं अधवेशनद्वारा गठित लेखा समितिबाट ६ करोड १७ लाख ८५ हजार ५सय ३४ रुपैयाँको बेरुजू नियमित गराई सम्परीक्षणको लागि महालेखा परीक्षक कार्यालयमा पेश गर्ने चरणमा रहेको कालाखेतीले बताए छ । साथै यस अवधिमा ३ लाख ५७ हजार असूल समेत भएको उनले बताए ।
गाउँपालिका गरेको कार्यप्रगति तथा निर्णयहरुबारे आगामी दिनमा चौमासीक रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने अध्यक्ष कालाखेतीले बताए ।
मकवानपुर । हेटौंडामा भएको प्रथम नागस्वती राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक नागस्वती भेट्रान्सले जितेको छ ।
हेटौंडा ७ नागस्वतीमा बुधबार भएको फाईनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्सले उपाधी हात पारेको हो ।
फाइनल खेलको पहिलो हाफको ११ औ मिनेटमा ठमेल चियापप भेट्रान्सका नर कुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा नागस्वती भेट्रान्सका राजकुमार घिसिङले गोल गर्दै खेललाई बराबरीमा सिमित पारे । ४२ औं मिनेटमा नागस्वतीका राजकुमार केसीले गरेको गोल निर्णायक गोल बन्न पुग्यो ।
विजेता टिम नागस्वतीले २ लाख १ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता ठमेल चियापपले १ लाख १ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, खेलमा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भएका छन् भने उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट मिल्ड फिल्डरमा ठमेल चियापपका लक्ष्मी यक्क भए भने उत्कृष्ट स्टाइकर नागस्वतीमा विक्रम श्रेष्ठ घोषित भएका हुन् । उत्कृष्ट घोषित हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजार सहित म्यान अफ द सिरिज प्राप्त गरेका छन् । गत १८ भाद्रबाट सुरु भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका १८ वटा टोलीको सहभागिता रहेको थियो ।
