मकवानपुर । हेटौंडामा भएको प्रथम नागस्वती राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक नागस्वती भेट्रान्सले जितेको छ ।
हेटौंडा ७ नागस्वतीमा बुधबार भएको फाईनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्सले उपाधी हात पारेको हो ।
फाइनल खेलको पहिलो हाफको ११ औ मिनेटमा ठमेल चियापप भेट्रान्सका नर कुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा नागस्वती भेट्रान्सका राजकुमार घिसिङले गोल गर्दै खेललाई बराबरीमा सिमित पारे । ४२ औं मिनेटमा नागस्वतीका राजकुमार केसीले गरेको गोल निर्णायक गोल बन्न पुग्यो ।
विजेता टिम नागस्वतीले २ लाख १ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता ठमेल चियापपले १ लाख १ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, खेलमा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भएका छन् भने उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट मिल्ड फिल्डरमा ठमेल चियापपका लक्ष्मी यक्क भए भने उत्कृष्ट स्टाइकर नागस्वतीमा विक्रम श्रेष्ठ घोषित भएका हुन् । उत्कृष्ट घोषित हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजार सहित म्यान अफ द सिरिज प्राप्त गरेका छन् । गत १८ भाद्रबाट सुरु भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका १८ वटा टोलीको सहभागिता रहेको थियो ।
In: खेलकुद, मुख्य खबर, राष्ट्रिय
Tags: No Comments

