मकवानपुर । हेटौंडामा कोसेली घर सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो । महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्री गर्न गरि सञ्चालनमा ल्याइएको कोसेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बुधबार उद्घाटन गरिन् ।
कोसेली घर उद्घाटन गर्दै प्रमुख लामाले महिलाहरुले घरायसी काम पछिको श्रमबाट उत्पादन भएको सामग्रीको बिक्रिबाट आर्थिक उपार्जन गर्दै महिलाको श्रम मर्न नदिन उपमहानगरले कोसेली घर सञ्चालनमा सहयोग गरेको बताइन् ।
उपमहानगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागि दिएको विभिन्न तालिमबाट दीक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री बिक्री तथा बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन लक्षितवर्गका सिपमूलक तालिम लिई उत्पादनमा लागे पनि बजारीकरणका कारण समस्या बेहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजारसम्म लैजान कोसेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेवी महिला उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीले बताइन् ।
कोसेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु संलग्न रहेको मैनालीले जानकारी दिइन् । कोसेली घरमा ढाकाका उत्पादनहरु सारी, कुर्था सुरुवाल, व्याग, जुत्ता, विवाहमा प्रयोग हुने साइपाटाका सामान, पूजा लागि प्रयोग हुने दुनाटपरी, धुपबत्ती, उनबाट बनेका कपडा, विभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।
जिल्लाभित्र रहेका महिला उद्यामीहरुलाई कोसेली घरमा जोड्दै लैजाने तयारी रहेको मैनालीले जानकारी दिइन् । उपमहानगरले हरेक वर्ष ३ सय ८० जना महिलालाई दिगो आर्यआर्जनको तालिम दिने गरेको कार्यलयले जनाएको छ ।
In: महिला/बालबालिका खबर, मुख्य खबर, राष्ट्रिय, स्थानीय खबर/समाज
Tags: No Comments

