मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध, एउटा कार तथा चालक समेत गरी ३ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र मानिस पक्राउ गरेको जनाएको हो। विहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरीले कार भित्र १ सय ६० किलो लागुऔषध गाँजा र लागुऔषध डाईजेपाम ट्याब्लेट १ हजार ८ सय ३१ पिस र ७७ बोलत वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको हो।
विहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउदै गरेको बा २० च ६८ नम्बरको होण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा कार भित्र पोका पारेको अवस्थामा १ सय ६० किलो लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए । प्रहरीले गाँजा सहित कार चालक चितवन भरतपुर महानगरपालिका – २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको १ लाख ३८ अठतीस हजार रुपैया समेत बरामद गरेको जनाएको छ।
त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागुऔषध नाईट्राभेट,वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा सिचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्रोभेट – ३ सय १६ ट्याब्लेट र वनरेक्स १०० एमएल को १४ बोत्तल फेला परेको हो।
एसपी गौतमका अनुसार खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र मकवानपुर भिमफेदी गाउँपालिका – ५ घर भई हाल हेटौडा ५ सिचाईटोल डेरा गरी बस्ने ३० बर्षीय प्रमोद कार्कीको संलग्ना रहेको जानकारीपछि खोजी गर्दा रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्राभेट- १ हजार ५ सय ४५ ट्याब्लेट र वनरेक्स १०० एमएल ६३ बोत्तल फेला पारिएको बताए।
पक्राउ परेका गुरुङ खेम्का श्रेष्ठ र कार्की माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए । मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई विहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

