चितवन । चितवनमा रहेर साहित्य कला र संस्कृतिकाे क्षेत्रमा याेगदान गर्दै आएकाे संस्था हाम्रो मझेरी साहित्य प्रतिष्ठानले विभिन्न विधाका १३ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । प्रतिष्ठानकाे २३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असोज १० गते घटस्थापनाका दिन भरतपुरमा विभिन्न स्रस्टाहरूलाई सम्मान गर्ने भएको हाे ।
प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला-संस्कृति, पत्रकारिता गीतसंगीतलगायतका विभिन्न बिधामा साधनारत स्रस्टालाई सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अन्जलीले विज्ञप्ति प्रकाशित गरी जानकारी दिए ।
प्रतिष्ठानले हरेक वर्ष प्रदान गरिँदै आएको हाम्रो मझेरी साहित्य सम्मान २०७९ बाट वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता रामलाल जोशी (धनगढी, कैलाली), लेखक/समालोचक उदय अधिकारी (भरतपुर, चितवन), कवि/गजलकार केशव आचार्य (बिर्तामोड, झापा), गजलकार विनोद अनुज (चितवन), गजलकार सीता शर्मा (गान्तोक, सिक्किम) लाई सम्मानित गर्ने भएकाे छ ।
यसैगरी सङ्गीतकार विशाल ढकाल (गैंडाकोट, नवलपुर), कवि/कथाकार सरस्वती शर्मा क्षेत्री (दार्जिलिङ), कवि सुमन घिमिरे (सर्लाही), कवि/गजलकार/आख्यानकार सुशीला पौडेल (काठमाडौं), क़कवि विश्वप्रेम अधिकारी (स्याङ्जा), गजलकार साबित्री गिरी (पोखरा), पत्रकार/लेखक विनोदबाबु रिजाल (चितवन), नाटककार/कवि/मुक्तककार माधव पोखरेल (हेटौँडा) लाई सम्मान गर्ने भएकाे हाे ।
कवि प्राध्यापक डाक्टर भीम खतिवडाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकाे २३ औं वार्षिकोत्स्वका अवसरमा सम्मानित गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । यसैगरी २३ औं वार्षिकोत्स्वका समारोहमा नेपाली गजलको इतिहासमा एउटा अर्को नवीनतम दस्तावेज गजल ए महफिल र हाम्रो मझेरी साहित्यिक पत्रिका ५९ अङ्क लोकार्पण गरिने उनले बताए ।

