मकवानपुर । बडा दशैं अन्तर्गतकाे नवौ दिन अर्थात नवरात्रीको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन विशेष गरी सिद्धिद्धात्री देवीको पूजा-आजा गरिन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनलाई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ ।
मकवानपुर । आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । अहिले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकाे आज मंगलबार प्रकाशित बुलेटिनमाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।
असोज १९ गते दशैंको टीकाको दिन देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज २० गते र २१ गतेको दिनमा पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी माैसम विज्ञान विभागले माैसम बुलेटिनमा चेतावनी तथा परामर्श समेत दिएकाे छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा सबारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीको अनुसार दुर्घटनामा ३६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको विभिन्न जिल्लामा फरक फरक घटनामा परेर ६ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, धादिङ, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा भएको घटनाबाट ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको हो ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ का ६५ वर्षिय ईन्द्र बहादुर पाठक आफ्नै घर पोत्ने क्रममा करेन्ट लागी घाइते भएकोमा उपचारको क्रममा काठमाडौ स्थित विपि हस्पिटल बसुन्धारामा मृत्यु भएको छ । नुवाकोटकै विदुर नगरपालिका १३ का ५४ को कृष्ण दमाईले आफ्नै झुण्डिएर आत्माहत्या गरेका छन् ।
यता धादिङ जिल्ला थाक्रे गाउँपालिका ४ लितीमा १ जानको मृत्यु भएको छ । आग्रखोला नजिकै फुटबल चौर बनाउनको लागी माटो निकाल्दा भएको खाल्डोमा जमेको पानीमा परेर सन्त गोलेको छोरा अन्दाजी १४ वर्षको संजय गोलेको डुवेर मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागी काठमाडौ टिचिङ हस्पिटल लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ जिल्लाकै बेनिघाट रोराङ गाउँपालिका ५ कृष्णभीरमा सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् । पृथ्वी लोकमार्गमा काठमाडौबाट बर्दिया जादै गरेको बा.प्र ०२-०३१ प ०८३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदां बर्दिया जिल्ला बाराबर्दिया गाउँपालिका ७ बस्ने २९ वर्षिय बसन्ती पोखरेल मध्यम घाईते भएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुली जिल्ला घ्याङखेल ४ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय ६८ वर्षिय जित बहादुर आलेको फ्नै घरमा राखेको मिलमा धान कुट्ने मिल चलाई रहेको अबस्थामा चट्याङले हानेर मृत्यु भएको हो ।
यसैगरी चितवन जिल्ला रत्ननगर नगरपालिका २ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । टांडीबाट सुब्बाचोक तर्फ जांदै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्की तर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको को कार एकापसमा ठोक्कीदा मोटरसाइकल चालक चितवन रत्ननगर १४ लौरीघोल बस्ने ५१ वर्षिय रामबहादुर गुरुङ घाइते भएका छन् ।
मोटरसाइकल पछाडी सवार गुरुङकी श्रीमती ४० वर्षिय सुमित्राको टाउकोमा चोट लागि गम्भिर घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु प्रदेश प्रहरीले जनाएको छ ।
यता मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको धरानचतरा सडकखण्डमा हेटौडाबाट जुरेली तर्फ आउदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार लेवर काम गर्ने अन्दाजी २३ को सुमन लो गुडिरहेको ट्याक्टरबाट खसेर घाइते भएकोमा उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । आज बडा दसैं अन्तर्गत सातौ दिन सप्तमी तिथि फूलपाती पर्व मनाइदै छ । नवरात्रको सातौं दिन फूलपाती भित्र्याउने चलन छ ।
आज आइतबार दसैंघर, कोत तथा घरघरमा दसैंको ‘फूलपाती’ भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा फूलपाती भित्र्याउने गरिन्छ ।
दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याइँने गरिन्छ ।
फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ, रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ । यसै दिनबाट सरकारी कार्यालय बिदा सुरु हुन्छ ।
मकवानपुरको हेटौंडामा रहेको शक्तिपिठहरुमा समेत फूलपाती भित्र्याउने गरिएको छ । आज आश्वीन १६ गते सप्तमी तिथिको फूलपातीको दिन भुटनदेवी मन्दिर हेटौंडा १० र बनष्खण्डी मन्दिर हेटौंडा २ मा फूलपाती भित्र्याइने छ ।
दसैको फूलपाती भित्र्याइने दिनलाई ३६५ दीनको एकवर्षको १ दीनको पनी १ घण्टा नवदुर्गा भगवतीको लागि नेपाली सेना, नेपाल प्रहरी, दंगा प्रहरी र सशस्त्र प्रहरीबाट नगर परिक्रमा गर्दै फूलपाती भित्र्याइने भूटनदेवी मन्दिर व्यवस्थापन समिती अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भूटनदेवी मन्दिर र वनस्खण्डी मन्दिरमा हेटौंडा १० स्थित गोरक्षेश्वर मन्दिर राप्तीतटबाट हेटौंडा बजार परिक्रमा गर्दै फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ । भूटनदेवीमा फूलपाती भित्र्याउने कार्यक्रम बिहान ७:३0 बजे बाट र बनष्खण्डी मन्दिरमा फूलपाती भित्र्याउने कार्यक्रम दिउँसो २:३० बजे सुरु हुने उनले जानकारी दिए
यस्तै हनुमानढोका दरबार दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइँने परम्परा छ । धादिङ जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले लाने र धादिङ जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले फूलपाती लिएर जाने परम्परा रहेको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याउने परम्परा छ ।
पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भित्र्याइँने चलन बसेको इतिहास छ ।
फूलपाती भित्र्याउने साइत अनुसार टुँडीखेलमा नेपाली सेनाले फूलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आजै नै फूलपातीका दिन कालरात्रि देवीको पूजा गरिँदै छ ।
