मकवानपुर । आज बडा दसैं अन्तर्गत सातौ दिन सप्तमी तिथि फूलपाती पर्व मनाइदै छ । नवरात्रको सातौं दिन फूलपाती भित्र्याउने चलन छ ।
आज आइतबार दसैंघर, कोत तथा घरघरमा दसैंको ‘फूलपाती’ भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा फूलपाती भित्र्याउने गरिन्छ ।
दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याइँने गरिन्छ ।
फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ, रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ । यसै दिनबाट सरकारी कार्यालय बिदा सुरु हुन्छ ।
मकवानपुरको हेटौंडामा रहेको शक्तिपिठहरुमा समेत फूलपाती भित्र्याउने गरिएको छ । आज आश्वीन १६ गते सप्तमी तिथिको फूलपातीको दिन भुटनदेवी मन्दिर हेटौंडा १० र बनष्खण्डी मन्दिर हेटौंडा २ मा फूलपाती भित्र्याइने छ ।
दसैको फूलपाती भित्र्याइने दिनलाई ३६५ दीनको एकवर्षको १ दीनको पनी १ घण्टा नवदुर्गा भगवतीको लागि नेपाली सेना, नेपाल प्रहरी, दंगा प्रहरी र सशस्त्र प्रहरीबाट नगर परिक्रमा गर्दै फूलपाती भित्र्याइने भूटनदेवी मन्दिर व्यवस्थापन समिती अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भूटनदेवी मन्दिर र वनस्खण्डी मन्दिरमा हेटौंडा १० स्थित गोरक्षेश्वर मन्दिर राप्तीतटबाट हेटौंडा बजार परिक्रमा गर्दै फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ । भूटनदेवीमा फूलपाती भित्र्याउने कार्यक्रम बिहान ७:३0 बजे बाट र बनष्खण्डी मन्दिरमा फूलपाती भित्र्याउने कार्यक्रम दिउँसो २:३० बजे सुरु हुने उनले जानकारी दिए
यस्तै हनुमानढोका दरबार दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइँने परम्परा छ । धादिङ जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले लाने र धादिङ जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले फूलपाती लिएर जाने परम्परा रहेको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याउने परम्परा छ ।
पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भित्र्याइँने चलन बसेको इतिहास छ ।
फूलपाती भित्र्याउने साइत अनुसार टुँडीखेलमा नेपाली सेनाले फूलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आजै नै फूलपातीका दिन कालरात्रि देवीको पूजा गरिँदै छ ।

