मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा सबारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीको अनुसार दुर्घटनामा ३६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
