मकवानपुर । मदिराको प्रयोगले बालबालिकाहरु जोखिममा रहेको सरोकारवालाहरुले बताएका छन् । बालमैत्री स्थानीय तह घोषणाको क्रममा विभिन्न सवाललाई ध्यान दिने गरेको भनिएता पनि बालबालिकाको चौतर्फी सवालमा भने चासो नपुगेको बताइएको हो ।
सरकारले राष्ट्रिय गौरवका योजनाहरु तयार गर्ने र उक्त योजनाहरु पुरा गर्नको लागि राज्यको तीनै तहको ध्यान पुग्ने गरेको भएपनि बालबालिका बारे चासो कम भएको सिविन बाल हेल्पलाइन केन्द्रीय कार्यालयमा ध्रुब गौतमले बताए ।
“खासमा बालबालिका चाँही राष्ट्रिय गौरव हुन्, यो क्षेत्रमा विषेश संवेदनशिलता आवश्यक छ” गौतमले भने “तर दुर्भाग्य यही क्षेत्रमा न त कानुनले बोलेको छ, त न सरकारले कुनै कदम चालेको छ ।” व्यसायिक रुपमा मदिराको खरिद विक्रीको सवालमा पनि बालबालिकाहरु प्रयोग हुँदै आएको प्रति सरोकारवालाहरुले चासो प्रकट गरेका थिए ।
मदिरा प्रयोग न्यूनीकरण तथा लागुपदार्थ प्रयोगको विरुद्ध सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रमा यस्तो सवाल उठाइएको हो ।
दुव्र्यसनीमा परेका बालबालिकाहरुलाई संरक्षणसँगै उनीहरुको विकासमा ध्यान दिनुपर्ने, मदिरा सेवनको कारण पारिवारीक तथा आर्थिक अवस्था बिग्रने गरेको र यसको सिधै असर बालबालिकाहरुमा पर्ने गरेको गौतमले बताए ।
सिविन बाल हेल्प लाइन मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा मकवानपुर जिल्लामा रहेर बाल अधिकार तथा बाल संरक्षणको सवालमा कार्यरत सरोवारवाला संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुकोनगरस्तरीय बाल सन्जाल सदस्यहरु, सुरक्षाप्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
सिविन बालहेल्प लाईन केन्द्रीय कार्यालयमा ध्रुब गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । मदिराको कारण बालबालिकाको शैक्षिक पाटोमा समेत असर पुग्ने गरेको गौतमले बताए ।
हेटौंडा उपमहानगरपालिकाले आगामी २०८० को मंसिरमा बालमैत्री स्थानीय शासन लागू भएको घोषणा गर्ने लक्ष्य लिएको छ । यसको लागि बालमैत्री वातावरण तयारीको चरणमा पनि यस्ता कार्यक्रमहरु आवश्यक भएको हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखा प्रबन्धक विष्णुकुमारी लामिछाने बताइन् ।
मकवानपुर जिल्लामा रहेका विभिन्न पुनस्थापना केन्द्रका प्रतिनिधिहरुले बालबालिकाको संरक्षणको लागि राज्यले विशेष ध्यान दिनुपर्ने र यसको लागि आवश्यक सहयोग गर्न केन्द्र सञ्चालकहरु तयार रहेको बताएका थिए ।
मकवानपुर । संघीयता अभ्यासको ५ वर्ष पुरा हुँदै गर्दा यो संरचनाको बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीहरु नै बढी आउने गरेको छ । तर सरकारी तहबाट भने अन्य कार्यक्रममा भाषणको शैलीमा बाहेक यसको समिक्षा भएको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडामा एक सञ्चारगृहले आयोजना गरेको कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले प्रदेश सरकार विकास निर्माणमा बेकम्मा भएको टिप्पणी गरेका छन् । “दलका नेताहरु कुर्सीमोहमा डुब्ने, जनताको करले मन्त्री पाल्नु पर्ने, यो बेकम्मा प्रदेश तह किन चाहियो” कार्यक्रममा सहभागीहरुले यस्तै आक्रोश पोखेका छन् ।
न्युज २४ टेलिभिजनले हेटौंडामा आयोजना गरेको सिधा कुरा मुख्यमन्त्रीसँग कार्यक्रममा सहभागीहरुले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार बीचको बिचौलिया जस्तो भएको बताए । संघले देला भनेर प्रदेश आशा गरिने, तर संघले सधैं साघुरो मन गर्ने गरेको कारण पनि प्रदेशको औचित्य नभएको टिप्पणी सहभागीहरुले गरेका हुन् ।
कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारलाई बलियो बनाउने जिम्मेवारी केन्द्रले आफ्नो हो भनेर नसोच्दा समस्या भएको बताए । “केन्द्रिकृत मानसिकताले विकास गर्न दिएन” मुख्यमन्त्री पाण्डले भने “केन्द्रिय राजनीति छिन्नभिन्न भएपछि प्रदेशमा कुर्सी मोह बढेजस्तो देखिएको हो, राजनीतिक स्थिरता नभएपछि कसरी विकास हुन्छ ।”
मन्त्रालय फुटाएर मन्त्री थप्ने, जनतालाई पाल्नै गाह्रो भएको सवाललाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डले भने “एउटै मन्त्रीको जिम्मेवारीमा धेरै मन्त्रालयहरु गाभिएको कारण मन्त्रीले सबै तिर ध्यान दिनदिन सक्नु भएन, सोचे अनुसारको विकास भएन, अनि मन्त्रालय फुटाएको हो ।”
कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको संरचनालाइ केन्द्रिय कर्मचारी तन्त्रले नस्वीकारेको बताए । केन्द्रीकृत अभ्यास लामो समयको अभ्यास भएकोले यो संघीयताको बानि पार्न पनि केही लामै समय लाग्ने पौडेलले बताए ।
आफू मख्यमन्त्री भएर आएपछि संरचना निर्माणमा समय लागेको बताउँदै पौडेलले भने “यहासम्म आईपुग्न धेरै संघर्ष गर्न पर्यो, अब खाका बनेको छ, प्रदेश सरकार देखिने भएको छ ।”
कार्यक्रममा नागरिक समाजका अगुवा पत्रकार प्रताप बिष्टले नयाँ संरचनाको कारण केही सकस रहे पनि, जनताको अपेक्ष अधुरो रहेको बताए । “प्रदेश सरकार आफै पनि सेतु बनेर बस्यो, केन्द्रले दिएन भनेर पन्छिएर प्रदेश सरकारले पार पाउने अवस्था हैन ।”
कार्यान्वय तहमा संघीयता आएपनि संघीय आचरण सोचेजस्तो नबनेको उनले बताए । “ केन्द्रीय नेतृत्व सामन्तीवादी प्रवृत्ति छ, यता प्रदेशमा चुनाव उठ्दा दलले धेरै आशा देखायो, तर पूरा गर्न सकेन अनि जनतामा निराशा बढेको छ ।”
कार्यक्रममा हेटौंडाका व्यवसायी राजकुमार न्यौपानेले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएपछि जनताको दुख झनै बढेको बताए । दलहरूबिच खिचातानी भयो, कुर्सी मोह अति भयो, प्रदेशमा काम गर्ने नेताले पनि केन्द्रको दोष दिएर कुर्सीमा बस्न मिल्दैन” न्यौपानेले भने “आफूले गर्न नसके कुर्सी छाडे भैगोनि, केन्द्रले दिएन भन्न पाइन्छ” उनले प्रश्न गरे ।
दशकौ देखि हेटौंडाको बजारको संरचना अस्तव्यस्त रहेको, अस्पतालको अवस्था नाजुक भएको, खेल मैदान, शिक्षा, स्वास्थ्य, रोजगारबारे युवाहरुले मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
मकवानपुर । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेज भर्ना गरिएको थियो ।
उपचारत अबस्थामा क्रममा डेंगु संक्रमण पुष्टि भएको उनको स्वास्थ अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएको थियो । पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा असोज ३० गते आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले पुष्टि गरे ।
जोशीको जन्म्स वि.सं. १९७७ वैशाख ३० गते भएको हो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कारबाट २०१३ सालमा पहिलोपटक पुरस्कृत भएका थिए । उनी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको नगर सभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।
मकवानपुर। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लक्ष्यित गर्दै दलहरुले कार्यकर्ता भेला गर्न थालेका छन् ।
चुनाव लक्ष्यित योजनाहरु निर्माणको लागि दलहरुले कार्यकर्ता भेला तथा एजेण्डाहरु सार्वजनिक गर्न थालेका हुन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा तथा क्षेत्र नम्बर–१ अन्तरगत प्रदेश सभा ख का उम्मेदवार एकालाल श्रेष्ठको उम्मेदवार परिचय तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागि नेताहरुले मकवानपुरको प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारी दिएका छ जना उम्मेदवारलाई हार्ने छुट नभएको भन्दै लागिपर्न निर्देशन दिए । योजना बद्ध ढंगले चुनावी मैदानमा होमिएकाले एमालेले यस जिल्लामा गरेको कामका आधारमा पनि जित सुनिस्चित भएको नेताहरुले दाबि गरेका छन् ।
“सूर्यमा मतदान गरेर कमल थापालाई जिताएमा कसैले पश्चाताप गर्नेपर्ने दिन नआउने राप्रपा नेपालका अध्यक्ष तथा एमालेका उम्मेदवार कमल थापाले बताए ।
सूर्यमा मतदान गरेर आफूलाई जिताएमा कसैले पनि पश्चाताप गर्नु नपर्ने बताउँदै थापाले भने “म मकवानपुर जिल्लाको साझा अभिभावक बनेर सबैको आवजको प्रतिनिधित्व गर्ने छु ।”
यो चुनाब आफ्नो जीवनको अन्तिम चुनाव रहेको बताउँदै थापाले अहिलेको सहकार्यलाई सहज रुपमा लिनका एमालेजनलाई आग्रह गरे ।
अहिलेको सहकार्य एकथान सांसद जित्नका लागि मात्र नभएर सधैका लागि गरिएको सहकार्यलाई बुझ्न उनले आग्रह गरे । नागरिकता बिधेयकका विषयमा राष्ट्रिपतिले गरेको कमदको आफूहरुले स्वागत गरेको उनले बताए ।
एमालेका उम्मेदवार विजयी बनाउने गरी चुनावी अभियानमा सक्रिय बन्न रामेश्वर रानाको निर्देशन
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने बताएका छन् ।
अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथी रानाले एमाले सरकारमा रहँदा गरेको कामहरुले विकासका ढोकाहरु खोलेको बताउँदै एमालेको जितले मात्र देशमा समृद्धि आउने बताए ।

पार्टीले देशको भावी प्रधानमन्त्रीको रुपमा पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीलाई अघि सारेर अघि बढेको बताउँदै जिल्लामा पार्टीको चुनावी अभियानलाई तीब्रता दिने गरी अघि बढ्नु पर्ने बताए ।
पार्टीलाई सत्ता गठबन्धन लगाएत विदेशी शक्तीहरुले चौतर्फी घेराबन्दी र षड्यन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध उभिन कार्यकर्तालाई निर्देशन दिए । मंसिरमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउने गरी सक्रिय बन्न पार्टीको सम्पूर्ण संगठनहरुलाई निर्देशन दिए ।
देशलाई बचाउन पनि एमालेले जित्नु जरुरी छः डोरमणि पौडेल
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिले मुलुक शंकटमा रहेकाले देशलाई बचाउन पनि एमालेले जित्नु जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले एमाले कमजोर बनाउने देशी बिदेशी शक्ति कृयाशिल रहेको बताए । राष्ट्रियता बलियो बनाउन अनि अन्य केही दलसङ्ग सहकार्य भएको बताए ।
सिक्किमिकरणमा पुर्याउन भुटानीकरण गर्न गठबन्धनले केपी ओलि नेतृत्वको सरकार ढालिएको दावि गरे । एमालेका जित्ने आधार धेरै रहेको र त्यस अनुसार गरिएका काम पनि उनले आग्रह गरे । उनले भने “अन्य दललाई मकवानपुरमा के गर्यो भनेर सोध्नुस्, एउटा मात्र के काम गर्नुभयो भन्दै प्रस्न गरौ, उत्तर दिन सक्ने आधार छैन । तर, एमालेले मकवानपुरका लागि के चै गरेन भनेर भन्ने आधारहरु धेरै छ ।”
एमालेको विजय सुनिश्चित छ–एकालाल श्रेष्ठ

आगामी निर्वाचनमा मकवानपुरमा नेकपा एमालेको विजय सुनिश्चित रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–२ अन्तरगत प्रदेश सभा ख का उम्मेदवार एकालाल श्रेष्ठले बताएका छन् ।
एमालेले समृद्धि र राष्ट्रियताको नेतृत्व गरेको अवस्थामा सरकारबाट बाहिरिन बाध्य पारिएको बताए । एमाले सरकारबाट बाहिरिएसंगै बिकासको बाटो बन्द हुँदै गएको बताए ।
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ । जिल्लामा गत साउन महिनाबाट देखिएकाे डेंगु संक्रमण हालसम्म पनि राेकिएकाे छैन, दिनप्रति दिन बढ्दै गएको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु जिल्लामा हालसम्म ४ हजार १ सय ३१ जनामा पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार २ सय ७ जनामा डेंगु संक्रमण देखिएकाे थियाे । मकवानपुरमा सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यहाँ हालसम्म ३ हजार ४ सय७५ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ ।
हेटौंडासँगै जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामीहरु बढीरहेका छन् । डेंगु बढेसँगै जिल्लाका अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप पनि बढेको छ ।
बागमती प्रदेशमा संक्रमित ३० हजार बढी
यसैगरी बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि शुक्रबार सम्म ३ हजार ३ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार १ सय २ जना डेंगु संक्रमितका बिरामी रहेका छन् । प्रदेशमा रसुवा जिल्लामा भने ७ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।
यसैगरी, ललितपुरमा ८ हजार ५ सय ५४, मकवानपुरमा ४ हजार १ सय ३१, भक्तपुरमा २ हजार ४ सय ७५, चितवनमा १ हजार ३ सय ८९, धादिङमा १ हजार ८६, काभ्रेमा २ सय २०, नुवाकोटमा १ सय ३४, सिन्धुलीमा १ सय २५, रामेछापमा १ सय २५, सिन्धुपाल्चोकमा १ सय ४८ र दोलखामा ७५ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।
