मकवानपुर । मदिराको प्रयोगले बालबालिकाहरु जोखिममा रहेको सरोकारवालाहरुले बताएका छन् । बालमैत्री स्थानीय तह घोषणाको क्रममा विभिन्न सवाललाई ध्यान दिने गरेको भनिएता पनि बालबालिकाको चौतर्फी सवालमा भने चासो नपुगेको बताइएको हो ।
सरकारले राष्ट्रिय गौरवका योजनाहरु तयार गर्ने र उक्त योजनाहरु पुरा गर्नको लागि राज्यको तीनै तहको ध्यान पुग्ने गरेको भएपनि बालबालिका बारे चासो कम भएको सिविन बाल हेल्पलाइन केन्द्रीय कार्यालयमा ध्रुब गौतमले बताए ।
“खासमा बालबालिका चाँही राष्ट्रिय गौरव हुन्, यो क्षेत्रमा विषेश संवेदनशिलता आवश्यक छ” गौतमले भने “तर दुर्भाग्य यही क्षेत्रमा न त कानुनले बोलेको छ, त न सरकारले कुनै कदम चालेको छ ।” व्यसायिक रुपमा मदिराको खरिद विक्रीको सवालमा पनि बालबालिकाहरु प्रयोग हुँदै आएको प्रति सरोकारवालाहरुले चासो प्रकट गरेका थिए ।
मदिरा प्रयोग न्यूनीकरण तथा लागुपदार्थ प्रयोगको विरुद्ध सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रमा यस्तो सवाल उठाइएको हो ।
दुव्र्यसनीमा परेका बालबालिकाहरुलाई संरक्षणसँगै उनीहरुको विकासमा ध्यान दिनुपर्ने, मदिरा सेवनको कारण पारिवारीक तथा आर्थिक अवस्था बिग्रने गरेको र यसको सिधै असर बालबालिकाहरुमा पर्ने गरेको गौतमले बताए ।
सिविन बाल हेल्प लाइन मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा मकवानपुर जिल्लामा रहेर बाल अधिकार तथा बाल संरक्षणको सवालमा कार्यरत सरोवारवाला संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुकोनगरस्तरीय बाल सन्जाल सदस्यहरु, सुरक्षाप्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
सिविन बालहेल्प लाईन केन्द्रीय कार्यालयमा ध्रुब गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । मदिराको कारण बालबालिकाको शैक्षिक पाटोमा समेत असर पुग्ने गरेको गौतमले बताए ।
हेटौंडा उपमहानगरपालिकाले आगामी २०८० को मंसिरमा बालमैत्री स्थानीय शासन लागू भएको घोषणा गर्ने लक्ष्य लिएको छ । यसको लागि बालमैत्री वातावरण तयारीको चरणमा पनि यस्ता कार्यक्रमहरु आवश्यक भएको हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखा प्रबन्धक विष्णुकुमारी लामिछाने बताइन् ।
मकवानपुर जिल्लामा रहेका विभिन्न पुनस्थापना केन्द्रका प्रतिनिधिहरुले बालबालिकाको संरक्षणको लागि राज्यले विशेष ध्यान दिनुपर्ने र यसको लागि आवश्यक सहयोग गर्न केन्द्र सञ्चालकहरु तयार रहेको बताएका थिए ।

