मकवानपुर । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेज भर्ना गरिएको थियो ।
उपचारत अबस्थामा क्रममा डेंगु संक्रमण पुष्टि भएको उनको स्वास्थ अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएको थियो । पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा असोज ३० गते आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले पुष्टि गरे ।
जोशीको जन्म्स वि.सं. १९७७ वैशाख ३० गते भएको हो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कारबाट २०१३ सालमा पहिलोपटक पुरस्कृत भएका थिए । उनी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको नगर सभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

