मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ । जिल्लामा गत साउन महिनाबाट देखिएकाे डेंगु संक्रमण हालसम्म पनि राेकिएकाे छैन, दिनप्रति दिन बढ्दै गएको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु जिल्लामा हालसम्म ४ हजार १ सय ३१ जनामा पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार २ सय ७ जनामा डेंगु संक्रमण देखिएकाे थियाे । मकवानपुरमा सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यहाँ हालसम्म ३ हजार ४ सय७५ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ ।
हेटौंडासँगै जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामीहरु बढीरहेका छन् । डेंगु बढेसँगै जिल्लाका अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप पनि बढेको छ ।
बागमती प्रदेशमा संक्रमित ३० हजार बढी
यसैगरी बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि शुक्रबार सम्म ३ हजार ३ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार १ सय २ जना डेंगु संक्रमितका बिरामी रहेका छन् । प्रदेशमा रसुवा जिल्लामा भने ७ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।
यसैगरी, ललितपुरमा ८ हजार ५ सय ५४, मकवानपुरमा ४ हजार १ सय ३१, भक्तपुरमा २ हजार ४ सय ७५, चितवनमा १ हजार ३ सय ८९, धादिङमा १ हजार ८६, काभ्रेमा २ सय २०, नुवाकोटमा १ सय ३४, सिन्धुलीमा १ सय २५, रामेछापमा १ सय २५, सिन्धुपाल्चोकमा १ सय ४८ र दोलखामा ७५ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।

