मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा क्षेत्रमा आइतबार बाघ देखा परेकाे थियाे । आइतबार २ वटा डमरुसहित स्थानीयले बाघ देखेका थिए । आइतबार नै स्थानीयकाे २ वटा बाख्रा खाएको बाघ सोमबार पनि त्यस क्षेत्रमा देखिए पछी प्रहरीलाई खबर गरेका थिए ।
साेमबार समेत देखा परेको बाघको खोजी कार्य थालिएको छ । मंगलबारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरव डाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो । यसैगरी भैरवडाँडाकाे वन क्षेत्रमा बाघ समात्न स्वचालित ट्रयापिङ क्यामेरा जडान गरिएको छ। बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले भैरवडाँडास्थित वन क्षेत्रमा चारवटा ट्रयापिङ क्यामेरा जडान गरेको हो।
‘हामीले जडान गरेको क्यामेरा दुई दिनपश्चात् हेर्नेछौं। त्यसक्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ’ वडाअध्यक्ष सविन न्यौपानेले भने। क्यामेराले त्यसक्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने न्यौपानेले बताए।
आइतबार बिहान साढे ११ बजे स्थानीयकाे एउटा बाख्रा र एउटा खसी खाएकाे बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले बताए।
मंगलबारबाट खाेजी कार्य गरेकाेमा हालसम्म बाघ फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । जंगल बाक्लो रहेकोले बाघ कहिँकतै गएर बसेको हुन सक्ने भएकोले खोजीकार्यलाई तिब्रता दिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रर्दशनी गर्ने भएको छ । पर्यटन प्रर्वद्धनका लागि थाहा नगरपालिकाले काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा थाहा ३ दिन फोटो प्रर्दशनी गर्ने भएकाे हाे । थाहा फाेटाे प्रदर्शनी कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको थाहा नगरपालिकाले जनाएकाे छ ।
पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित ३ दिने फोटो प्रर्दशन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिने नगरप्रमुख बिष्टले बताए ।
फोटो प्रर्दशनी काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिने छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिने भएकाे छ । कार्यक्रम स्थलमा सूचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिने छ । प्रर्दशनी प्रत्येक दिन विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुने बताइएकाे छ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते विहान साँढे ११ बजे गर्ने भएका छन् ।
थाहा फाेटाे प्रदर्शनी,२०७९ का संयोजन इन्द्रबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थितीको लागि सम्पूर्णमा आग्रह गरेका छन् ।
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग तीन महिनापछि पुनः संचालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको उक्त उद्योग मंगलबारबाट पुनः संचालनमा आएको हो ।
उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।
उद्योगका उपकरणको मर्मतसम्भारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो साताबाट सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । पाण्डेका अनुसार उद्योगमा दैनिक १ सय १० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको उद्योग ब्यबस्थापनले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१२ का २३ वर्षीय रोशन लामा, सोही ठाउँका २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा–१३ का ३३ वर्षीय सुमन परियार रहेका छन् ।
मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा–१० बसपार्क टीसीएन रोडस्थित लागुऔषधको कारोबार भएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जाँच गर्दा रोशनको साथबाट लागुऔषध एनारगन ९ पत्ता (९० पिस ट्याब्लेट), ट्रमाडेक्स ३५ पत्ता (३ सय ५० पिस ट्याब्लेट) र अनिलको साथबाट लागुऔषध गाँजा १ सय ५० ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।
प्रहरीले उनीहरुसँगै रहेका सुमन परियारलाई पनि नियन्त्रणमा लिएको हो । तीनै जनालाई लागुऔषधसहित पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरका १९ मतदानस्थल अती संवेदनशील सूचीमा रहेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका १९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
२ संघीय क्षेत्र र ४ प्रदेशसभा क्षेत्रको १६७ मतदान स्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए ।
प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए । उनले अति संवेदनशील क्षेत्रमा बढी सुरक्षाकर्मी खटाइने बताउँदै निर्वाचनको तयारीलाई तीब्रता दिइएको समेत बताए । प्रमुख पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको प्रहरी सुरक्षा पनि केहि दिन पछि खटाउने तयारी रहेको बताए ।
जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
