मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रर्दशनी गर्ने भएको छ । पर्यटन प्रर्वद्धनका लागि थाहा नगरपालिकाले काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा थाहा ३ दिन फोटो प्रर्दशनी गर्ने भएकाे हाे । थाहा फाेटाे प्रदर्शनी कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको थाहा नगरपालिकाले जनाएकाे छ ।
पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित ३ दिने फोटो प्रर्दशन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिने नगरप्रमुख बिष्टले बताए ।
फोटो प्रर्दशनी काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिने छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिने भएकाे छ । कार्यक्रम स्थलमा सूचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिने छ । प्रर्दशनी प्रत्येक दिन विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुने बताइएकाे छ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते विहान साँढे ११ बजे गर्ने भएका छन् ।
थाहा फाेटाे प्रदर्शनी,२०७९ का संयोजन इन्द्रबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थितीको लागि सम्पूर्णमा आग्रह गरेका छन् ।

