मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा क्षेत्रमा आइतबार बाघ देखा परेकाे थियाे । आइतबार २ वटा डमरुसहित स्थानीयले बाघ देखेका थिए । आइतबार नै स्थानीयकाे २ वटा बाख्रा खाएको बाघ सोमबार पनि त्यस क्षेत्रमा देखिए पछी प्रहरीलाई खबर गरेका थिए ।
साेमबार समेत देखा परेको बाघको खोजी कार्य थालिएको छ । मंगलबारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरव डाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो । यसैगरी भैरवडाँडाकाे वन क्षेत्रमा बाघ समात्न स्वचालित ट्रयापिङ क्यामेरा जडान गरिएको छ। बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले भैरवडाँडास्थित वन क्षेत्रमा चारवटा ट्रयापिङ क्यामेरा जडान गरेको हो।
‘हामीले जडान गरेको क्यामेरा दुई दिनपश्चात् हेर्नेछौं। त्यसक्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ’ वडाअध्यक्ष सविन न्यौपानेले भने। क्यामेराले त्यसक्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने न्यौपानेले बताए।
आइतबार बिहान साढे ११ बजे स्थानीयकाे एउटा बाख्रा र एउटा खसी खाएकाे बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले बताए।
मंगलबारबाट खाेजी कार्य गरेकाेमा हालसम्म बाघ फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । जंगल बाक्लो रहेकोले बाघ कहिँकतै गएर बसेको हुन सक्ने भएकोले खोजीकार्यलाई तिब्रता दिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

