मकवानपुर । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा सप्ताहव्यापी राष्ट्रिय योग दिवस सुरु भएको छ ।
पतञ्जली योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस २७ पुस (आज) बाट ३ माघसम्म सप्ताहव्यापी रूपमा मनाउने भएको छ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाउने भएको हो ।
समितिका अनुसार पौष २७ गतेदेखि माघ ३ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ । जिल्लाभर रहेका योग साधना केन्द्र, विद्यालय तथा सार्वजनिक स्थलहरूमा कार्यक्रम आयोजना गरी योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले योग दिवस सप्ताहव्यापी मनाउन लागिएको समिति अध्यक्ष रामकृष्ण थापाले बताए ।
२७ पुष आइतबार आ–आफ्नो योग साधना केन्द्रमा विशेष सरसफाइ तथा फूल बिरुवा रोपण गरि योग सप्ताह सुरु गरिएको छ । आज बिहान वनदेवी योग साधना केन्द्रमा सञ्चालित सहयोग शिक्षक तालिमको समापन कार्यक्रम तथा हवन आयोजना गरिएको छ । यसै गरि २८ पुस सोमबार जिल्लाका विभिन्न विद्यालयहरूमा आहार–विहार सम्बन्धी प्रवचन तथा योग–ध्यान कार्यक्रम सञ्चालन गरिने छ ।
२९ पुस गते माघे सङ्क्रान्तिको सांस्कृतिक महत्वबारे जिल्ला योग भवनमा प्रवचन कार्यक्रम गरिने छ। त्यसैगरी ३० पुसमा धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर धामको सरसफाइ कार्यक्रम गरिने छ। १ माघ गते रोयल पार्टी प्यालेसमा योग, ध्यान तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । २ माघमा पुनः विद्यालय केन्द्रित आहार–विहार विषयक विशेष चर्चा तथा योग–ध्यान कार्यक्रम गरिनेछ ।
यस्तै ३ माघमा हेटौंडा–१९ वस्तीपुर, हात्तीगौडामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको समापन गरिने जिल्ला अध्यक्ष थापाले जानकारी दिए । समितिले यस अभियानले योगप्रतिको जनचेतना बढाउँदै स्वस्थ जीवनशैली निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सन्देश जारी गरेका छन् ।
उनले सन्देशमा भनेका छन् ‘राजदरबारबाट बाहिरिएको दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित तुल्याएको छ ।’ सन्देशमा उनले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन्। देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्य बारे निराशाको संकेत दिइरहेको भन्दै अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुन थालेको बताएका छन्।
‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ’ उनले भने । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख नहुने उल्लेख गरेका छन्। ‘सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ। नेपाली विश्वमा जहाँ रहे पनि राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ । स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएकाे निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । शिविरको पहिलो दिन बिहीबार ५२१ जना विद्यार्थी तथा शुक्रबार ४२९ जना विद्यार्थीकाे आँखा परीक्षण गरिएकाे विद्यालयले जनाएकाे छ । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे आँखा शिविर शनिबार समेत हुने विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए । प्रअ कर्णका अनुसार शनिबारनै विद्यालयमा विद्यार्थीहरु लक्षित दन्त शिविरको समेत आयोजना गरिने छ । आँखा परीक्षणका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको छ । जटिल समस्या देखिएका विद्यार्थीहरुको थप उपचारमा विद्यालयले सहजीकरण गर्ने उनले जानकारी दिए ।
यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौंडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ सहयोग प्रदान गरेका छन् ।
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
देशभरका जिल्ला प्रहरी कार्यालयहरूले आ-आफ्नो कोटा अनुसार सूचना जारी गर्दै आज शुक्रबारदेखि आवेदन माग गरेका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको कोटाअनुसार १ लाख ३३ हजार ९ सय ८० जनाका लागि मात्रै आवेदन खुलाएको थियो । तर, गृह मन्त्रालयको निर्देशनपछि जिल्लाहरूले सशस्त्र प्रहरीको कोटा १५ हजार १ सय १० जना समेत समेटेर संयुक्त रूपमा आवेदन आह्वान गरेका हुन् ।
सशस्त्र प्रहरीले आफ्नो कोटाको भर्ना कसरी गर्ने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल गरेपछि दुवै निकायको कोटा उल्लेख गरेर सूचना निकाल्न निर्देशन दिइएको थियो ।
सूचनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोटा छुट्टाछुट्टै उल्लेख भए पनि छनोट प्रक्रिया भने संयुक्त रूपमा गरिने जनाइएको छ । सबै प्रक्रिया टुंगिएपछि मात्रै कुन उम्मेदवार नेपाल प्रहरी र कुन सशस्त्र प्रहरी मातहत रहने भन्ने तय हुनेछ । त्यसपछि दुवै सुरक्षा निकायले आ-आफ्नो टोलीलाई १० दिनको तालिम दिनेछन् ।
तालिमपछि करिब एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइने निर्वाचन प्रहरीको करार अवधि ४० दिन (तालिमसहित) तोकिएको छ । यद्यपि, निर्वाचनको अवस्था अनुसार म्याद थप वा नियुक्ति बदर हुन सक्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ । निर्वाचन स्थगित वा रद्द भएमा नियुक्ति स्वतः रद्द हुने पनि स्पष्ट पारिएको छ ।
निर्वाचन प्रहरीले दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार ७ सय ७६ रुपैयाँ तलब पाउनेछन् । साथै, आवतजावत भत्ता, खाजा भत्ता, पोशाक खर्च र अन्य सुविधा नेपाल प्रहरीका जवान सरह उपलब्ध गराइनेछ । सबै रकम बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ । निर्वाचनमा खटिँदा घाइते वा मृत्यु भएमा सरकारले तोकेअनुसार क्षतिपूर्ति पनि उपलब्ध गराइनेछ ।
इच्छुक नेपाली नागरिकले आजदेखि पाँच दिनभित्र देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । यो भर्ना प्रक्रियाले निर्वाचन सुरक्षासँगै ठूलो संख्यामा युवालाई अस्थायी रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
देवघाटधाम । तनहुँ,चितवन र नवलपरासी(नवलपुर) काे संगमस्थल प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा ‘मकर-काव्य-यामिनी’ २३ औं शृङ्खला हुने भएकाे छ । देवघाट क्षेत्रकाे तनहुँ जिल्लामा अवस्थित ‘महेश संस्कृत विद्यापिठ गुरुकुलम्’को आयोजनामा ३० पुस २०८२ काे साँझ ‘मकर-काव्य-यामिनी’को २३ औँ शृङ्खलाकाे नियमित आयोजना हुने भएको हाे ।
मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । मकर काव्य यामिनी- २०८२ प्राडा भागवत शर्माको प्रमुख आतिथ्य तथा कवि मनु मञ्जीलको विशेष उपस्थितिमा हुने भएकाे छ । राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गरेको छ ।
यसका साथै यामिनीमा चितवन, मकवानपुर, कास्की, नवलपरासी, काठमाडौं तथा देशका विभिन्न स्थानका काव्यसाधकहरूको सहभागिता रहनेछ । “देवघाट महाकाव्य ” “म र मेरा” र “महापुरुष” का स्रष्टा निराजन पन्त, छन्दकवि सुदेश सत्याल, कवि नगाधिराज, कवि तथा गजलकारलगायतका स्रष्टा मकर काव्य यामिनीका प्रतिनिधि हुन् ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा । हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥”
चितवन, नवलपरासी र तनहुँको संगम वेणीमा माघ १ गतेको अघिल्लो रात श्रद्धालुले भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन छ। तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउनका लागि ‘काव्य यामिनी’ आयोजना गरिँदै आएको महेश संस्कृत गुलुकुलमले जनाएकाे छ । माघ १ गते देवघाटमा माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ ।
देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ । काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा आयोजकले निमन्त्रणा गरेकाे छ ।
सवारीसाधनबाट आउने व्यक्तिहरू रामनगर ठिमुराको पुल तथा जुगेडीको पुलबाट महेश संस्कृत गुरुकुलमा पुन्न सक्नेछन् । अन्य व्यक्तिहरू नारायणगढ आँपटारी हुँदै झोलुङ्गे पुलबाट गुरुकुल पुग्न सक्नेछन् । सबै अतिथिलाई खाने र बस्ने व्यवस्था आयोजकले गर्ने बताइएकाे छ । २०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।