देवघाटधाम । तनहुँ,चितवन र नवलपरासी(नवलपुर) काे संगमस्थल प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा ‘मकर-काव्य-यामिनी’ २३ औं शृङ्खला हुने भएकाे छ । देवघाट क्षेत्रकाे तनहुँ जिल्लामा अवस्थित ‘महेश संस्कृत विद्यापिठ गुरुकुलम्’को आयोजनामा ३० पुस २०८२ काे साँझ ‘मकर-काव्य-यामिनी’को २३ औँ शृङ्खलाकाे नियमित आयोजना हुने भएको हाे ।
मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । मकर काव्य यामिनी- २०८२ प्राडा भागवत शर्माको प्रमुख आतिथ्य तथा कवि मनु मञ्जीलको विशेष उपस्थितिमा हुने भएकाे छ । राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गरेको छ ।
यसका साथै यामिनीमा चितवन, मकवानपुर, कास्की, नवलपरासी, काठमाडौं तथा देशका विभिन्न स्थानका काव्यसाधकहरूको सहभागिता रहनेछ । “देवघाट महाकाव्य ” “म र मेरा” र “महापुरुष” का स्रष्टा निराजन पन्त, छन्दकवि सुदेश सत्याल, कवि नगाधिराज, कवि तथा गजलकारलगायतका स्रष्टा मकर काव्य यामिनीका प्रतिनिधि हुन् ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा । हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥”
चितवन, नवलपरासी र तनहुँको संगम वेणीमा माघ १ गतेको अघिल्लो रात श्रद्धालुले भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन छ। तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउनका लागि ‘काव्य यामिनी’ आयोजना गरिँदै आएको महेश संस्कृत गुलुकुलमले जनाएकाे छ । माघ १ गते देवघाटमा माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ ।
देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ । काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा आयोजकले निमन्त्रणा गरेकाे छ ।
सवारीसाधनबाट आउने व्यक्तिहरू रामनगर ठिमुराको पुल तथा जुगेडीको पुलबाट महेश संस्कृत गुरुकुलमा पुन्न सक्नेछन् । अन्य व्यक्तिहरू नारायणगढ आँपटारी हुँदै झोलुङ्गे पुलबाट गुरुकुल पुग्न सक्नेछन् । सबै अतिथिलाई खाने र बस्ने व्यवस्था आयोजकले गर्ने बताइएकाे छ । २०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।

