मकवानपुर । निर्वाचन आयोगले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत मंसिर ४ गते सम्पन्न निर्वाचनको बागमती प्रदेशको अन्तिम प्रतिवेदन बुझाएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को अन्तिम प्रतिवेदन निर्वाचन आयोगका सचिब गोकर्णमणी दुवाडीले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन् । प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।
निर्वाचित सांसदहरुको पहिलो बैठक पौष पहिलो साता बोलाउने तयारी भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ । पहिलो बैठक आव्हान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने वयवस्था रहेको छ ।

प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सांसदहरुमध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्ने छ । संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।
ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सभाका सदस्यहरुलाई शपथग्रहण गराउन प्रदेश सभा सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ । शपथ ग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम प्रदेश सभा सचिवालयको हुने व्यवस्था छ ।

सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनका काम पनि प्रदेश सभा सचिवालयले गर्नेछ ।
सभामुखको निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ ।
एक भन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन ।
यसरी चुनिन्छ मुख्यमन्त्री
प्रतिनिधि सभाको बैठकबाट नै मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ र, निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ । तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । तस्बिर सौजन्य शिव चौलागाईं
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मूल्य घटाउने निर्णय गरे संगै शुक्रबार राति १२ बजेदेखि पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटेको हो । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।

मकवानपुर । मुख्यबजारभन्दा पर रहेका पसलहरूमा म्याद गुज्रिएको सामान बिक्री हुने संभावनालाई मध्यनजर गर्दै पूर्वी मकवानपुरको फापरबारीमा प्रशासनले बजार अनुगमन गरेको छ ।
बागमती गाउँपालिका वडा नं ६ स्थित फापरबारी बजारमा शुक्रबार अनुगमन गरिएको हो । जिल्ला अनुमगन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको संयोजकत्वमा बजार अनुगमन गरिएको हो ।
बजारमा सञ्चालित विभिन्न ९ वटा व्यवसायमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रेका सामाग्री विक्री वितरणका लागि राखेका विभिन्न ४ वटा पसल,व्यवसायलाई जरिवाना गराइएको छ
फापरबारीमा सञ्चालित कञ्चन मेडिकल हल, बिएन एग्रोभेट, सेवा एग्रोभेट र घलान किराना पसललाई नगद जरिवाना गराइएको हो ।
अनुगमनका क्रममा अनुमति नलिई क्लिनिक सञ्चालन गरेको, म्याद गुज्रेको औषधि विक्रीका लागि राखेको, अनाधिकृत व्यक्तिले औषधि बेचिरहेको पाइएकाले कञ्चन मेडिकल हललाई १ लाख रुपैयाँ जरिवाना गराइएको प्रशासनले जनाएको छ ।
त्यस्तै औषधि व्यवस्था विभागमा दर्ता नभई व्यवसाय सञ्चालन गरेको बिएन एग्रोभेट र सेवा एग्रोभेटलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ जरिवाना गराइएको छ । दुबै पसलबाट म्याद सकिएका विषादी फेला पारी जफत गरिएको छ ।
म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएको घलान किराना पसललाई १० हजार रुपैयाँ जरीवाना गरिएको हो । अन्य ५ वटा पसल, तथा व्यवसायलाई सचेत गराइएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाकी निमित्त प्रमुख टीका शर्मा, उपभोक्ता हकहित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष वासु खतिवडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा महेश कुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा कार्यरत लेखमान रावत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सहायक प्राविधिक दीपक घिमिरे लगायतको सहभागी थिए ।
मकवानपुरका सबै क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिइने सहायक प्रजिअ कँडेलले बताए ।
मकवानपुर । निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेकाे छ । आयाेगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे मत परिणाम सहितकाे प्रतिवेदन विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचनकाे मत परिणाम सहितकाे प्रतिवेदन बुझाइएकाे आयाेगले जनाएकाे छ । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्ने बताइन् । ‘लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न भएकाे छ’ उनले भनिन् ‘निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयाेग, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दछु ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दै निर्वाचनको संक्षिप्त विवरण समेत प्रस्तुत गरेका थिए । सो अवसरमा आयुक्तहरू ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा सहित आयोगका सचिव श्री गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बालिका शिक्षाको सुधारका लागि सरोकारवालाहरूले खबरदारी गरेका छन् । शिक्षा क्षेत्रमा राजनीतिकरण हाबी भएको कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो खबरदारी गरिएको हो ।
आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा बालिका तथा समाबेशी शिक्षाको नीतिगत पैरवी सिकाई आदनप्रदान कार्यक्रम यस्तो बताईएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमतीका उपेन्द्र राई, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका रमेश बिडारीलगायतले शिक्षामा सकारात्मक सुधार सुरु भएको बताएका थिए ।
प्रदेश सरकारले शैक्षिक सुधारको लागि नेतृत्व र हातेमालो गर्न तयार रहेको राईले बताए । यसैगरी स्थानीय तहमा अभिभावक शिक्षाको सवालमा नियमित कार्यक्रम रहेको बिडारीले बताए । बालमैत्री स्थानीय शासन लागू हुनु गर्न तर्फ लागेको र गैससको समन्वय आवश्यक रहेको उनले बताए । सेनिटरी प्याड, बिद्यालय पोशाक खरिदको तयारीमा उपमहानगर रहेको बिडारीले बताए ।

शिक्षा पत्रकार समाजका केन्द्रिय अध्यक्ष प्रकाश सिलवालले शिक्षाको सवालमा बिद्यमान व्यवस्था, चुनौती तथा सिकाईबारे जानकारी गराएका थिए । जन्मदर्ताको कारण शिक्षाबाट कुनै पनि बालिका शिक्षाबाट बन्चित हुने अवस्था हुन नहुने सिलवालले बताए । किशोरी सशक्तीकरण लागि शिक्षा अनिवार्य रहेको सिलवालले बताए ।
कार्यक्रममा आसमान नेपाल परियोजना फोकल ब्यक्ति कृति केशरीका अनुसार मधेश, गण्डकी, बागमती र कर्णाली प्रदेशको २३ स्थानीय तहका ३८ बिद्यालय यो कार्यक्रम संचालनमा रहेको छ ।
कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक रूपमा अतिबिपन्न भएकाको शिक्षाको सवाल कमजोर रहेको बताइन् । सिविन बाल हेल्प लाइन प्रमुख झबिन्द्र ज्ञवलि भौगोलिक दुरीको कारण स्कुल छाड्ने चुनौती ख्यालगर्नु पर्ने बताए । बालबालिका स्कुल छोड्ने कारण अभिभावक सचेत नभएको कारण पनि रहेको ज्ञवलीले बताए । “बालबालिका बिग्रे भन्ने सूनिन्छ तर अभिभावक झन बिग्रन थाले” ज्ञवलीले भने । स्कुल नजाने सबै बालबालिका बाल श्रममा आवद्ध भएको बताए ।

होस्टलमा राखिएका बालबालिकाको भविष्य शंकटमा रहेको, आफ्नो काममा सहज हुन बालबालिकालाई मोबाइल दिनाले ड्रप आउट बढेको उनले बताए । जन्मदर्ता अभावको कारण पढ्नबाट बन्चित हुने अवस्थालाई हेरेर बैकल्पिक शिक्षा कार्यक्रम चाहिने उनले बताए । “जन्मदर्ता समस्या समाधान भाषण र गोष्ठीमा मात्रै छ, सफ्टवेयरमा छैन” ज्ञवलीले भने ।
कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियानका प्रकाश खतिवडाले सार्वजनिक शिक्षा सुदृढीकरण गर्नु आवश्यक रहेको बताए । सहभागीहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा किशोरी सशक्तीकरणको शिक्षा कार्यक्रम माथी छलफल भएको हो । कार्यक्रम शिक्षा पत्रकार समाजका बागमती प्रदेश उपाध्यक्ष रिपेश दाहालले सहजीकरण गरेका थिए ।
अभिभावक शिक्षा, विद्यालय व्यवस्थापन पक्षमा सुधार गर्ने नीतिगत पहल आवश्यक भएको सहभागीहरूले बताएका थिए ।
