मकवानपुर । निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेकाे छ । आयाेगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे मत परिणाम सहितकाे प्रतिवेदन विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचनकाे मत परिणाम सहितकाे प्रतिवेदन बुझाइएकाे आयाेगले जनाएकाे छ । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्ने बताइन् । ‘लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न भएकाे छ’ उनले भनिन् ‘निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयाेग, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दछु ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दै निर्वाचनको संक्षिप्त विवरण समेत प्रस्तुत गरेका थिए । सो अवसरमा आयुक्तहरू ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा सहित आयोगका सचिव श्री गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलगायतको उपस्थिति रहेको थियो ।

