मकवानपुर । आज पुस १ गते शुक्रबारबाट जिल्ला स्तरीय तेक्वान्दो हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने प्रतिगोगिता दुई दिनसम्म चल्ने छ ।
प्रतियोगितामा जिल्लाको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका १५ वटा डोजाङले सहभागिता जनाउने भएका छन् । पुरुष र महिलाका विभिन्न विद्यामा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा गराईने तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए ।
उनले लामो समयसम्म तेक्वान्दोको प्रतियोगिता नहुँदा जिल्लामा खेलाडी उत्पादन गर्न समस्या हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेका बताए । अध्यक्ष बज्राचार्यले पुरुषतर्फ ५ केजीको फरकमा ६३ केजीसम्म र महिलातर्फ ५ केजीको अन्तरमा ५२ केजीसम्मका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने बताए ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले नै खर्च गर्ने गरी गर्न लागिएको प्रतियोगिताका लागि करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार अध्यक्ष बज्राचार्यले आफ्नो व्यक्तिगत खर्चमा दिन लागेका बताए ।

