मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको ७ वटा अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ ।
भन्सार छुटमा खरिद गरिएको ७ वटा शव वाहन टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा गत आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको थियो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई शव वाहन हस्तान्तरण गरेको केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश सरकार मातहतका सात वटा अस्पतालहरुलाई एकएक वटाको दरले शव वाहन हस्तान्तरण गरेको हो ।
कैन्द्रले प्रदेशको दोलखा जिल्लाको पशुपति चौलागाई अस्पताल, रसुवा जिल्लाको रसुवा अस्पताल, रामेछाप जिल्लाको रामेछाप अस्पताललाई शव वाहन वितरण गरेको हो । यसैगरी चितवनको रत्ननगर बकुलर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, सिन्धुली अस्पताल र त्रिसुली अस्पताललाई शव बाहन हस्तान्तरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताए ।
खरिद गरिएका शव वाहन बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका अध्यक्ष तथा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो । मन्त्री जोशीले शव वाहनहरुमा शव ओसार्दा सकेसम्म निशुल्क र रकम लिनै परेमा पनि थोरै रकममा ओसार्न अस्पतालहरुलाई निर्देशन दिएको बताए ।
यि अस्पतालहरुलाई केन्द्रले केही महिना अघि अत्याधुनिक प्रविधि जडान भएको एम्बुलेन्स वितरण गरेको थियो । प्रदेश स्तरको अस्पताल भनेपछि सबै प्रकारको सेवामा दक्ष बनाउन प्रदेश सरकार लागि परेको मन्त्री जोशीले बताए ।
हस्तान्तरण गरिएका शव वाहनहरुलाई व्यवस्थित रुपमा संचालन गर्न पनि उनले निर्देशन दिएका छन् । कार्यक्रममा मन्त्रालयका सचिब बद्रीबहादुर खड्काले शव वाहन सञ्चालन गर्नका लागि कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरिने बताए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारी, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मोटरसाइकल ट्रकमा ठोकिदा २ जनाको मृत्यु भएको छ ।
असार १४ गते आइतबार राती ८:१५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ ज्यामिरेस्थित सडक छेउमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठिक्किदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मनहरी ९ का २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा सवार मनहरी ९ कै २१ वर्षीय सुशील गिरी घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागि चितवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सुशीलको राती ९:२५ बजे र शम्भुको राती ११: १० बजे डाक्टरले मृत्यु भएको घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात स्थानीयले राजमार्ग अबरोध गरेकोमा ३ घण्टापछि राती ११ बजे सवारी आवागमन सुचारु भएको थियो । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक जनक तामाङसहितको टोलीले ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहनागरपालिकामा डेंगुको संक्रमण देखिन थालेको छ । गत जेठ महिनाबाट देखिएको डेंगु संक्रमण साउनमा मात्रै ५ जनामा भएको छ । डेंगुका विरामी बढ्न थालेपछि राेकथाम र नियन्त्रणकाे तयारी उपमहानगरपालिकाले गर्दै छ ।
हाल हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित ९ जना बिरामी उपचारको क्रममा रहेका उपमहानगरपालिकाले जनाएकाे छ । डेंगु संक्रमणका विमारी बढ्दै जान थालेपछि उपमहानगरपालिकाले यसकाे नियन्त्रण तथा राेगथामकाे लागि भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेकाे छ । उपमहानगरभित्र डेंगु संक्रमण कम गर्नका लागि कर्मचारी नियुक्त गरेरै काम गर्न लागेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षक डेंगु संक्रमण गराउने लामखुट्टेकाे सम्भावित बास स्थानको खोजी गर्ने र नष्ट गर्ने कार्यमा मात्र परिचालन हुने बताइएको छ । आइतबार बसेकाे स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि भेट्राे निरीक्षक नियुक्त गरेर डेंगु नियन्त्रणमा कार्य गर्ने निर्णय गरेको हो ।
उपमहानगरले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएकाे छ । स्थानीय विपद् समितिकाे बैठकले संक्रमणको आंकलन गरेको स्थान सहित सम्भावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयंसेवीका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत वर्ष हेटौंडा उपमहानगरपालिकामा मात्रै ४ हजार ३४३ जनामा डेंगु संक्रमण भएकाे थियाे भने मकवानपुर जिल्लामा ५ हजार ८ सय ५९ जना डेंगुका कारण बिरामी परेको थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले मातहतका ७ वटा अस्पताललाई शवबाहन हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकार मातहतका ७ वटा प्रादेशिक अस्पताललाई शवबाहन हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेण्डरमार्फत भन्सार छुटमा खरिद गरेको शवबाहन अस्पताललाई हस्तान्तरण गरिएकाे हाे । केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/०८० मै मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार शवबाहन खरिद गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कामु निर्देशक बसन्त अधिकारी र वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्टलगायतकाे उपस्थिति थियो ।
मकवानपुर । बागमती प्रदेश मन्त्री परिषदको बैठक आज बसेको छ ।
बैठकले बागमती प्रदेश सरकारको विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव) मा बढुवा गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
